काठमाडौं । यूएईमा चलिरहेको १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुआत गरेको छ । यूएईको अजमानमा रहेको कारवान मैदानमा आज भएको खेलमा नेपालले साउदी अरबलाई ८ विकेटले हरायो ।
साउदी अरबले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ३० ओभर ४ बलमै २ विकेट गुमाएर भेटायो । नेपालका निरजकुमार यादवले १ सय १४, निश्चल क्षत्रिले नटआउट ६६ रन बनाए । साउदी अरबका मोहम्मद जुबेर सुनसरा र हाशिर अहमद सज्जादले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको साउदी अरबले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रन बनायो । साउदी अरबका मोहम्मद जुबेर सुनसराले सबैभन्दा धेरै ४८ रन बनाए । नेपालका अशोक धामीले २ विकेट लिए ।
यो जीतसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अंक जोडेको छ । यो समूहमा नेपाल र साउदी अरबसँगै हङकङ रहेको छ । अब नेपालले समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा पर्सि बिहीवार हङकङसँग खेल्नेछ ।
१४ वटा टोली सहभागी प्रतियोगिता आउँदो डिसेम्बर १ सम्म चल्नेछ । शीर्ष तीन टोली १९ वर्षमुनिको एशिया कपमा छनोट हुनेछन् ।


प्रतिक्रिया