बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्डको विरोधमा नोभेम्बर ३० सम्म देशव्यापी आन्दोलन र ‘प्रतिरोध मार्च’ गर्ने भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले उक्त घोषणा गरेको हो ।
नोभेम्बर १७ मा, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिनालाई तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमलसँगै मानवता विरुद्धको अपराध गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो । हसिना हाल भारतमा छिन्, गृहमन्त्री कमल पनि देशमै लुकेर बसेको विश्वास गरिन्छ ।
आफ्नो आधिकारिक एक्स ह्यान्डलमा पोस्ट गर्दै अवामी लिगले न्यायाधिकरणको निर्णय मोहम्मद युनुसको अन्तरिम सरकारले हसिना र उनको पार्टीलाई अर्को वर्ष फेब्रुअरीमा हुने आम चुनावबाट ‘बाहिर’ राख्ने राजनीतिक ‘षड्यन्त्र’अन्तर्गत त्यस्तो निर्णय गरेको आरोप लगाएको छ । पार्टीले न्यायाधिकरणको निर्णय अस्वीकार गर्दै त्यसलाई ‘अवैध’ भनेको छ र युनुसको राजीनामा मागेको छ ।


प्रतिक्रिया