रविलाई ढोग्न कांग्रेस नेता सुनिल शर्मा नख्खुमा

रविलाई ढोग्न कांग्रेस नेता सुनिल शर्मा नख्खुमा



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मोरङ–३ बाट निर्वाचित पूर्वसांसद सुनिल शर्माले हिजो बुधबार नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर फर्किए । मेडिकल व्यवसायीसमेत रहेका शर्माले भेटपछि रविमाथि अघिल्लो सरकारले प्रतिशोध राखेर थुनामा पठाएको मात्र भनेन्, वर्तमान सरकारसँग मुद्दा फिर्ता लिनसमेत आग्रह गरे ।

अघिल्ला सरकारको अपराधिक निर्णयहरु फिर्ता लिन माग गर्दै सञ्चारकर्मीसँग शर्माले भने, ‘मुद्दा फिर्ता लिँदा रवि लामिछाने भाग्छन् भन्ने डर लाग्छ भने मलाई बोलाउनुस् दुई हातको ल्याप्चे लगाएर रविजीलाई निकाल्न म तयार छु ।’

बेला–बेलामा चर्चामा आइरहने कांग्रेसबाट निर्वाचित सांसद शर्मा जेलमा रहेका रास्वपा सभापति रविलाई भेट्न किन नख्खु पुगे भन्ने विषय धेरैलाई थाहा नहुन सक्छ । फागुन २१ गते हुने निर्वाचनमा शर्माको निर्वाचन क्षेत्र मोरङ–३ धरापमा परेपछि उनी रास्वपा सभापति लामिछानेको शरणमा पुगेका हुन् ।

उक्त निर्वाचन क्षेत्रमा अर्का सफल उद्यमी बीरेन्द्रबहादुर बस्नेतले चुनाव लड्ने तयारी गरिरहेका छन् । बस्नेतको गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता मात्र भएको छैन, रास्वपासँग तालमेल गरेर निर्वाचनमा जाने सहमतिसमेत गरिसकेको छ । पार्टीका महासचिव पियुषप्रसाद कायस्थले बस्नेतलाई निर्वाचन लड्न बाधा नपुग्ने गरी विधान निर्माण गरेको र फागुन २१ मा हुने निर्वाचनमा रास्वपासँग सहकार्य गर्ने बताएका छन् ।

मोरङ–३ मा विवादस्पद मेडिकल व्यवसायीभन्दा सफल व्यवसायी बस्नेत लोकप्रिय छन् । बुद्ध एयर मात्र होइन मोरङ–३ डाँगीहाटमा रहेको कृषिफर्म पनि उनकै हो । जुन फर्मसँग हजारौं कृषक जोडिएका छन् । त्यत्ति मात्र होइन, आरजु राइस मिल पनि बस्नेतकै हो । जुन मोरङ मात्र होइन पूर्व तराईका कृषक प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका छन् ।

खर्बौँको व्यवसाय हुँदा पनि कहिले विवादमा नतानिएका बस्नेत मोरङवासी माँझ त्यत्तिकै लोकप्रिय छन्, जति उनको व्यवसाय सफल छन् । यस्ता व्यक्तिले चुनाव लड्न मोरङ–३ ताकेपछि शर्माको निद हराम भएको हो । साम, दाम, दण्ड, भेद बिर्सेर रविमार्फत् बस्नेतलाई मोरङ–३ मा रोक्न सकिन्छ कि भनेर शर्मा नख्खु जेल पुगेका हुन् । रास्वपाले बस्नेतलाई अगाडि सार्‍यो भने शर्माको लोकप्रिय मत संकटमा पर्ने निश्चितजस्तै छ ।

अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार भानुभक्त ढकाललाई झन्डै २२ हजार मतान्तरले पराजित गरेर निर्वाचित शर्मालाई कांग्रेसमा शेखर कोइरालाबाहेक कसैले चिन्दैन । मोरङ–३ बाट शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दा ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका थिए । जेनजी आन्दोलनपछि ठूला दलसँग रुष्ट मतदाताले नयाँ अनुहार रुचाउने सम्भावना प्रवल रहेको विश्लेषण छ ।

कांग्रेसमा शेखर कोइरालाबाहेक शर्मासँग कोही पनि खुशी छैनन् । असाय, गरिब र दुःखीको निःशुल्क उपचार गरेको भिडियो बनाएर प्रचार गरे पनि स्थानीय कांग्रेसजनसमेत शर्मासँग खुशी छैनन् । ओशो तपोवनमा ५० लाख रुपैयाँसम्म चन्दा दिनसक्ने शर्मा स्थानीय विकासमा सरकारले असहयोग गरेको भ्रम छरेर जनताबाट भाग्ने गरेका छन् ।

आफ्नो अस्पतालले विमा सुविधा प्रयोग गर्न नपाएपछि कांग्रेसकै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सत्तोसराप गरेका शर्माको राजनीतिक भविष्य त्यत्तिबेलै निर्धारण गरिएको थियो, जतिबेला संसदमा कांग्रेसले सरकारविरुद्ध विरोध गरिरहेको थियो । उनी भने युरोप भ्रमणमा रमाइरहेका थिए ।