काठमाडौं । नेपाली काँग्रेसभित्र महिनौँदेखि चर्किरहेको महाधिवेशन विवाद अन्ततः समाधानतर्फ उन्मुख देखिएको छ । सभापति शेरबहादुर देउवाले सहमतिको पहल तीव्र पारेसँगै पार्टीभित्रको महाधिवेशन विवाद समाधान उन्मुख देखिएको हो ।
पुसभित्रै नियमित महाधिवेशन गरेर महाधिवेशन विवाद टुङ्ग्याउने देउवाको योजनाले गति लिन थालेपछि विशेष महाधिवेशनको माग उठाउँदै आएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अडान कमजोर हुँदै गएको छ ।
जेनजी आन्दोलनपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक बनाएका थिए । तर खड्काले सर्वसम्मत सहमति नभएसम्म केन्द्रीय कार्यसमिति नबस्ने घोषणा गरेपछि पार्टीभित्र तनाव झनै बढेको थियो । हरेक बैठक सारिँदै जाँदा विशेष महाधिवेशनको माग उठाउँदै आएका गगन–विश्वप्रकाश पक्ष थप आक्रामक बनेको थियो । तर पछिल्लो २४ घण्टामा घटनाक्रमले अर्कै मोड लिएको काँग्रेस नेताहरू बताउँछन् ।
देउवाले शुक्रवार बिहानैदेखि विमलेन्द्र निधिदेखि कृष्ण सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, डा. शशांक कोइरालासहित सात शीर्ष नेतालाई बोलाएर छलफल गरे । छलफलमा अधिकांश नेताले चुनावअघि विशेष महाधिवेशनले पार्टीलाई क्षति पुर्याउने र नियमित महाधिवेशन नै व्यावहारिक विकल्प हुने तर्क राखे । देउवा नजिकका नेताहरूले अब पुसभित्रै नियमित महाधिवेशन गर्ने तयारी थाल्न सुझाव दिएका छन् ।
स्थापनाभित्र छुट्टै बसेको भेलाले विशेष महाधिवेशन पुसमा सम्भव नभएको निष्कर्ष निकाली सकेको छ । महाधिवेशन वैशाखसम्म धकेल्न हुँदैन भन्ने निष्कर्ष निकाल्दै हस्ताक्षरकर्तालाई फिर्ता ल्याउने अभियान सुरु गर्ने निर्णय पनि गरेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पहलकदमीमा निरन्तर जुटिरहेका थिए । तर डा.शेखर कोइराला नियमित महाधिवेशनको पक्षमा खुलेपछि उनीहरूको अडान अल्पमतको धारणा जस्तै देखिन थालेको छ ।


प्रतिक्रिया