कर्णालीविरुद्ध सहज जितसँगै काठमाण्डूको प्लेअफ सम्भावना बलियो

कर्णालीविरुद्ध सहज जितसँगै काठमाण्डूको प्लेअफ सम्भावना बलियो


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पाँच विकेटको सहज जितसँगै काठमाण्डू गोर्खाज प्लेअफ नजिक पुगेको छ ।

प्रतियोगिताका काठमाण्डूको यो चौथो जित हो । यता, चौथो हार बेहोरेको कर्णालीको प्लेअफ यात्रा भने कठिन बनेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

शनिबार काठमाण्डूलाई जित दिलाउन गेरहार्ड इरास्मसले सर्वाधिक ४३ रन बनाए । जोन सिम्पसनले २१ बलमा ४१ रन जोडे ।

ओपनर बेन चाल्सवर्थले २१ बलमा ३४ रन बनाए । मिलिन्द कुमार १५ रनमा रनआउट भए । अर्का ओपनर आकाश त्रिपाठीले आठ रन बनाए । काठमाण्डूका राशिद खान गोल्डेन डक भए ।

कर्णालीका नन्दन यादवले तीन विकेट लिए । पवन सर्राफले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको कर्णाली निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो ।

कर्णालीका अलराउन्डर गुल्सनकुमार झाले आक्रामक ब्याटिङ गर्दै ४९ रन बनाए । दीपक डुम्रेले १० रन बनाए ।

पवन सर्राफले २९ बलमा ३५ रन जोडे । ओपनर मार्क वाटले २७ बल खेल्दा ३० रन बनाए । अर्का ओपनर प्रियांक पन्चाल भने ‘रोयल डक’ भए । खेलको पहिलो बलमै काठमाण्ढूका कप्तान करण केसीले ‘कट एन्ड बोल्ड’ गरे । विलियम बोसिस्टोले एक र कप्तान सोमपाल कामीले ६ रन थपे ।

काठमाण्डूका राशिद खानले दुई विकेट लिए । चार ओभरमा उनले ३७ रन खर्चिए । मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए ।