काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरूले सत्ताको पनि नेतृत्व गर्न पाउनुपर्ने बताएका छन् ।
समाजवादी युवा संघ मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तीकरण सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हरेक परिवर्तनमा युवाहरूले नेतृत्वका साथै शहादत समेत दिँदै आएको बताएका हुन् ।
उनले युवाहरूले सरकारमा पनि नेतृत्व गर्न पाउनुपर्ने बताए । युवाहरूको सहभागिता बिना कुनैपनि आन्दोलन सम्भव नरहेको जिकिर गरे । युवाहरूलाई सम्बोधन गर्दै अध्यक्ष यादवले युवाहरूलाई उमेरले मात्र नभई सोच र चिन्तनले समेत युवा बन्नुपर्ने बताए । अग्रगामी क्रान्तिकारी सोच बोकेकाहरूलाई मात्र युवा भन्न सकिने उनको भनाई थियो ।
उनले भने ‘हरेक आन्दोलनमा युवाहरू नेतृत्व गर्दै आएका छन्, उनीहरूको सहभागिता बिना विश्वको कुनैपनि आन्दोलन सम्भव भएको छैन । उनीहरूले सत्ताको पनि नेतृत्व गर्नुपर्छ ।’
आसन्न प्रतिनिधि सभाको निर्वाचन र सङ्घर्षलाई साथसाथ अघि बढाएको जसपा नेपालले सम्मेलनमार्फत निर्वाचन केन्द्रित तयारीको लक्ष्यसहित युवाहरूलाई प्रशिक्षित गरेको छ ।


प्रतिक्रिया