एनपीएल : पोखराको प्लेअफ सम्भावना कायमै

एनपीएल : पोखराको प्लेअफ सम्भावना कायमै

कर्णाली बन्यो प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टिम



काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको ‘प्लेअफ’ दौडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनको हारसँगै कर्णाली लिग चरणको अन्तिम खेल बाँकी छँदै ‘प्लेअफ’मा नपुग्ने समीकरण बनेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

कर्णालीका ओपनर मार्क वाटले ५९ रनको अर्धशतकीय इनिङ खेले पनि टिमलाई जितसम्म डोर्‍याउन सकेनन् ।

नजिबुल्लाह जद्रानले २४, पवन सर्राफले १९ र अर्का ओपनर प्रियांक पन्चालले १६ रन बनाए । कप्तान सोमपाल कामीले १३ रन जोडे । दीपेन्द्र रावतले १० रन बनाए ।

पोखराका ऋषि धवन र धनञ्जय लक्षणले समान तीन विकेट लिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २०१ रनको योगफल खडा गरेको थियो ।

एनपीएलको दोस्रो संस्करणमा बनेको यो दोस्रो सबैभन्दा ठूलो योगफल हो । यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध नै सबैभन्दा ठूलो २२० रनको योगफल खडा गरेको थियो ।

पोखराका ओपनर रोसिङ्टनले अविजित १०८ रनको शतकीय इनिङ खेले ।

पोखराबाट पहिलो खेल खेलिरहेका जासन रोयले ३४ बलमा दुई चौका र तीन छक्कासहित ४६ रन बनाए । धनञ्जय लक्षण २३ रनमा अविजित रहँदा कप्तान कुशल भुर्तेलले १८ रन थपे ।

पोखराविरुद्ध सात बलर प्रयोग गरे पनि कर्णालीका नन्दन यादव र वार्क वाटले मात्रै विके निकाले । यी दुवैले समान एक विकेट लिए ।

प्रतियोगितामा पाँचौँ खेल खेलेको पोखराको यो दोस्रो जित हो । पहिलो खेलमा पोखराले विराटनगर किंग्सविरुद्ध ५३ रनको र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २५ रनको हार व्यहोरेको थियो ।

तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकालेको पोखराले चौथो खेलमा भने लुम्बिनी लायन्ससँग तीन विकेटको हार व्यहोरेको थियो ।

प्रतियोगितामा छैटौँ खेल खेलेको कर्णालीको यो पाँचौँ हार हो । कर्णालीले यसअघि पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटको हार व्यहोरेको थियो ।

दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको कर्णालीले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध तीन विकेटको र पाँचौँ खेलमा काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो ।