काठमाडौं । फागुन २१ गतेको हुने आमनिर्वाचनका लागि दलहरु सक्रियता हुन थालेका छन् । कांग्रेस र एमाले आम निर्वाचनभन्दा पनि महाधिवेशनमा जुटेका छन् भने अन्य राजनीतिक दलहरु समीकरण निर्माण र देशदौडामा छन् ।
नेकपा एमाले यसै महिनाको अन्त्यमा महाधिवेशन गर्ने तयारीमा जुटेको छ । उसको अर्जुनदृष्टि महाधिवेशन सफल बनाउने र नयाँ नेतृत्वमार्फत् आम निर्वाचनमा जानेमा लगाएको छ । यसैगरी नेपाली कांग्रेस पुस महिनाको अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको छ । कांग्रेसले महाधिवेशन, राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गतेको आम निर्वाचनलाई समानान्तर रुपमा अघि बढाउने निर्णय गरेको छ । कांग्रेस पनि नयाँ नेतृत्वमा आम निर्वाचनमा होमिने तयारीमा जुटेको छ ।
पुष्पकमल दाहाल (प्रचण्ड) ले नेतृत्व गरेको तत्कालिन माओवादी केन्द्र र माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी पार्टी भने छिन्नभिन्न बनेका छन् । प्रचण्ड, माधव, झलनाथ खनाल र बामदेव गौतमले निर्माण गरेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला देशदौडामा छ । माओवादी र समाजवादीबाट अलग भएर अर्को एउटा नयाँ दल बनेको छ भने केही नेता अन्य राजनीतिक दलमा मिसिएका छन् ।
सातै प्रदेशमा सचेतना अभियानमा जुटेको नेकपा विभाजित मनस्थितिबाट मुक्त हुनसकेको देखिँदैन । सदूरपश्चिमबाहेक अन्य क्षेत्रमा नेकपाप्रति जनताले खासै चासो देखाएनन् । जेनजी अभियान्ता सुदन गुरुङले वडा तहमा आयोजना गरेको कार्यक्रममा जति सहभागी थिए, त्योभन्दा थोरै नेकपाले प्रदेशमा आयोजना गरेको कार्यक्रममा देखिन्थ्यो । माओवादी र समाजवादी पार्टीबाट फुटेर बनेको राजनीतिक दलको अवस्था अझ नाजुक देखिएको छ ।
निर्वाचन आयोगमा धेरै नयाँ राजनीतिक दल दर्ता भएका छन् । हर्क साम्पाङ, कुलमान घिसिङ, वीरेन्द्रबहादुर बस्नेत र जेनजीका नाममा धेरै राजनीतिक दल दर्ता भएका छन् । पछिल्लो चरणमा जति पनि राजनीतिक दल दर्ता भएका छन्, उनीहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकीकृत गरेर लैजाने तयारी गरेको देखिन्छ । ललितपुरको नख्खु जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न जानेको लाम त्यसको पूर्वसंकेत हो भन्दा फरक पर्दैन ।
सभापति लामिछानेलाई भेट्न जानेको लहरले यतिबेला नख्खु जेल परिसर राजनीतिक दलको कार्यालयजस्तो भएको छ । कांग्रेस नेतादेखि लिएर विभिन्न राजनीतिक दलका नेताहरुसमेत रविलाई भेट्न नख्खु पुग्ने गरेका छन् । त्यत्ति मात्र होइन, जेनजी अभियान्ता सुदन गुरुङ, चलचित्रकर्मीलगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुले रविसँग भेट्न समय लिने गरेका छन् ।
लामिछानेलाई भेटेर फर्किनेहरु उत्साहित रुपमा प्रस्तुत हुने गरेको सञ्चारमाध्यममा देख्न पाइन्छ् । कांग्रेस नेता सुनिल शर्माले रविलाई भेटेर बाहिरेपछि भने, ‘रविमाथि अन्याय भएको छ, उहाँलाई जेल बाहिर निकाल्न दायाँबायाँ ल्याप्चे लगाउन तयार छु ।’ यसैगरी जेनजी अभियान्ता सुदन गुरुङले पनि रविमाथि अन्याय भएको बताएका छन् । उनले रविलाई भेटेर फर्किएपछि भने, ‘उहाँलाई न्याय दिलाउन म प्रधानमन्त्री सुशीला कार्कीसँग कुरा गर्छु ।’
रविलाई भेटेर फर्किएका टेलिभिजिन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले भने, ‘उहाँमा नयाँ ऊर्जा र उत्साह भरिएको पाएँ, उहाँमाथि भएको अन्याय अब लामो समयसम्म रहँदैन भन्ने मलाई विश्वास छ ।’ यसैगरी चलचित्र अभिनेता जीतु नेपालले भने, ‘रविलाई जति अन्याय हुनुथ्यो, त्यो भइसक्यो, अब उहाँ जनताको लोकप्रिय नेतामाँझ छिट्टै उदाउनु हुनेछ ।’ यी सबै राजनीतिक भेट भएको बताइएको छ ।
रास्वपाले कुलमान, बालेन, हर्कलगायतलाई एक ठाउँमा उभ्याउन विभिन्न चरणको वार्ता गोप्यरुपमा भइरहेको समाचारहरु बाहिरिएका छन् । अन्ततः उनीहरु घन्टी चुनाव चिन्हमा निर्वाचन लड्न सक्ने संकेत गरिएको छ । नयाँ राजनीतिक दल सबैलाई समेटेर रास्वपा फागुन २१ को निर्वाचनमा गयो भने संसदमा उसको बलियो उपस्थिति हुने अड्कलबाजी गरिएको छ ।
सहरी क्षेत्रमा राम्रो प्रभाव राख्ने रास्वपाले समाजका प्रभावशाली व्यक्तिलाई समेट्न सुरु गरिसकेको छ । जसले गर्दा राजधानी बाहिरका जिल्लामा यसको प्रभाव देखिन थालेको छ । अवकास प्राप्त एआईजी विश्वराज पोखरेल रास्वपामा भित्रिएपछि ओखलढुंगा जिल्लाको राजनीतिमा तरंग आएको यो एउटा उदाहरण मात्र हो । यस्ता उदाहरण अन्य धेरै जिल्लामा छन् । रास्वपामा पोखरेलको प्रवेशले ओखलढुंगा जिल्लाको परम्परागत राजनीतिले कोल्टो फेरिसकेको बताइन्छ ।
नख्खु जेलमा राजनीतिक भेटघाटसँगै पार्टीका कार्यवाहक सभापति डिबी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झालगायतले संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
राजनीतिक विश्लेषक कुमार यात्रुको अनुसार यही रफ्तारमा रास्वपा फागुन २१ को निर्वाचनमा होमियो भने अन्य राजनीतिक दलको कुरा छाडौं, कांग्रेस र एमालेका लागि ठूलो चुनौति हुनेछ ।


प्रतिक्रिया