सुर्खेत । प्रशोधित पिउने पानीको बोतलमा फोहोर र किरा भेटिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले बिरेन्द्रनगर-२ स्थित ‘तिला कर्णाली’ पानी प्रशोधन उद्योग शील गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा उपभोक्ताले फोहोर बोतलसहित उजुरी दिएपछि खाद्य कार्यालयसहितको संयुक्त टोलीले उद्योगमा गरिएको जाँचमा धेरै कमजोरीहरु रहेकोसमेत फेला परेको छ।
जसमा फिलिङ च्याम्बरको कभर भाँचिएको, माइक्रो फिल्टरबाट पानी चुहिएको, प्रशोधन कक्षमा अनावश्यक सामान थुपारिएको र कीट नियन्त्रणका मापदण्ड उल्लंघन गरिएको देखिएको छ। त्यसैगरी, वन वे फ्लो प्रणाली पालना नगरिएकाले उत्पादन गरिएको पानीले मानव स्वास्थ्यमा जोखिम पुर्याउने अवस्था रहेको भन्दै तत्काल उद्योगको उत्पादन र बिक्री–वितरणमा पूर्ण रोक लगाइएको छ।
कार्यालय प्रमुख सन्तोष दाहालका अनुसार, कुच्चिएका १४ थान १९ लिटरका जारहरू नष्ट गर्ने, फिलिङ च्याम्बर र माइक्रो फिल्टर मर्मत गर्ने, प्रशोधन कक्ष सफा गर्ने र कीट नियन्त्रणका उपायहरू कडा रूपमा अपनाउने निर्देशन दिइएको छ। निर्देशिका २०७५ का मापदण्ड पालना नभएसम्म उद्योगलाई शील गरी उत्पादनमा रोक लगाइने निर्णय समेत गरिएको छ।


प्रतिक्रिया