जिम्मेवारीबाट हटाइएका राप्रपा उपाध्यक्ष गिरी र प्रवक्ता लावतीको पद कायमै

जिम्मेवारीबाट हटाइएका राप्रपा उपाध्यक्ष गिरी र प्रवक्ता लावतीको पद कायमै


ग्लोब नेपाल
378
Shares

काठमाडौं । जिम्मेवारीबाट हटाइएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष मुकुन्दश्याम गिरी र प्रवक्ता सगुनसुन्दर लावतीको पद कायमै रहेको छ । निर्वाचन अयोगमा कायम अभिलेखअनुसार उपाध्यक्षमा गिरी र प्रवक्ता लावतीको जिम्मेवारी कायमै देखिन्छ ।

‘मैले आज निर्वाचन आयोगबाट प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बन्धी कागजातमा राप्रपाको उपाध्यक्ष पदमा मुकुन्दश्याम गिरी र प्रवक्ता पदमा मेरो नाम कायम देखिएको छ,’ राप्रपाका नेता सगुन सुन्दर लावतीले आइतबार भने ।

प्रवक्ता मोहन श्रेष्ठले गत साउन २ गते गिरीलाई पार्टी उपाध्यक्ष तथा केन्दीय सदस्यको जिम्मेवारीबाट र लावतीलाई प्रवक्ताको पदबाट असार २५ पदमुक्त गरिएको विज्ञप्ति जारी गरे पनि निर्वाचन आयोगमा सो बमोजिम अभिलेख कायम छैन ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार, पार्टीले नाम, विधान लगायत पदाधिकारीको हेरफेर गरेको ३० दिनभित्र आयोगलाई जानकारी गराउनु पर्ने कानुनी व्यवस्था छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ को उपदफा (१) मा भनिएको छ, राजनीतिक दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेर र आयोगले तोके बमोजिमका अन्य विषयको जानकारी ३० दिन भित्र आयोगलाई दिुन पर्ने र सोही ऐनको सोही दफा ५१ को उपदफा (२) मा उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएपछि आयोगले तत्‌सम्बन्धमा आवश्यक अध्ययन र जाँचबुझ गर्दा त्यस्तो काम कारवाही संविधान, यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम र दलको विधान बमोजिम भए गरेको पाइएमा नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हको हकमा त्यसको अभिलेख राख्नु पर्नेछ र पदाधिकारी हेरफेर भएको भए तोकिए बमोजिम अद्यावधिक गरी राख्नु पर्नेछ भन्ने कानुनी व्यवस्था रहेको छ ।

पार्टी सुत्र अनुसार, केन्द्रीय कार्य समितिका वैठकहरुमा केही समय यता नबोलाइएका सावित्रा थापाको नाम समेत केन्द्रीय सदस्य पदमा कायम छ ।