अख्तियार प्रमुख राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा

अख्तियार प्रमुख राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा


ग्लोब नेपाल
162
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना हाइ प्रोफाइल व्यक्तिलाई धम्की दिने समूहका ‘नाइके’ नेपाल बाहिर रहेको खुलेको छ । प्रहरीले गरेको अनुसन्धानबाट काभ्रे घर भएका प्रकाश पाठक इन्डोनेसियामा रहेको खुलेको हो ।

धम्कीपछि प्रमुख आयुक्त राईसहित १० जनाको निवासस्थान, भ्रमण मार्ग र कार्यक्रमस्थलमा निगरानी बढाउन उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सर्कुलर गरेको थियो । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउने पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर १० जना हाइप्रोफाइललाई ‘सफाया’ गर्ने धम्की दिएका थिए । उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।

प्रकाश पाठकसँग ‘कनेक्सन’मा देखिएका तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । ‘तीन जना नियन्त्रणमा हुनुहुन्छ, उहाँहरुलाई हामीले सोधपुछ गरिरहेका छौं,’ उनले भने ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा धादिङ घर भएका शरणजंग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धिरेन्द्र सुनार छन् । उनीहरुलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।