काठमाडौं । भारतको रायपुरस्थित गोविन्द लीला कला कौशल संस्थाद्वारा आयोजित ‘कलावंत २०२५ भरतनाट्यम् प्रतियोगिता’मा नेपालका तीनै प्रतिनिधि कलाकारले आ–आफ्नो समूहमा प्रथम स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कलात्मक प्रतिष्ठालाई अभूतपूर्व उचाइमा पुर्याएका छन्।

ललितपुर सुन्धारास्थित क्लासिक कल्चर सेन्टरबाट सहभागी भएका कलाकारहरू—सब–जुनियर समूह (६–१० वर्ष) मा ७ वर्षीय विभास स्वरुप रघुवंशी, जुनियर समूह (११–१५ वर्ष) मा १३ वर्षीया पंलेस्वा रघुवंशी, र सिनियर समूह (१६–२० वर्ष) मा १६ वर्षीया सदिक्षा पौडेल—आ–आफ्नो वर्गमा प्रथम हुँदै नेपाललाई गौरवान्वित बनाए।
‘परफर्मिङ आर्ट्स’ श्रेणीअन्तर्गत सञ्चालित प्रतियोगितामा नृत्यसँगै गायन, वादन तथा चित्रकलाको समेत समावेश थियो। अन्तिम मूल्यांकनमा पनि तीनै नेपाली कलाकारले सर्वाधिक अंक प्राप्त गर्दै ‘कलावंत सम्मान २०२५’ हासिल गरेका छन्। आयोजकहरूको भनाइमा, नेपाली कलाकारहरूको प्रस्तुतिले भारतीय सहभागीहरूभन्दा कतै कम नभएको तथ्य उजागर भएको छ। दर्शक र निर्णायकसमक्ष उत्कृष्ट नृत्याभिनय प्रस्तुत गर्दै तीनै कलाकारले उच्च प्रशंसा बटुलेका थिए।
गोविन्द लीला कला कौशल संस्थाका सचिव गुरु किरण साहूले ‘नेपालमा भरतनाट्यम् नृत्यको तीव्र विकासले आफूहरू प्रभावित भएका’ बताउँदै विशेष प्रशंसा व्यक्त गरे। कार्यक्रम संयोजक सारिका शर्माले नेपालका कलाकारहरूको प्रस्तुति ‘आफ्नो अपेक्षाभन्दा बाहिरको अद्भुत प्रदर्शन’ भएको भन्दै उच्च मूल्यांकन गरेकी थिइन्।

सब–जुनियर विजेता विभास स्वरुप रघुवंशी, एसयमजी स्कुल कक्षा २ का विद्यार्थी, ५ वर्षको उमेरदेखि भरतनाट्यम् साधनामा सक्रिय रहेका छन् र अहिलेसम्म २० भन्दा बढी मञ्च प्रस्तुति देइ सकेका छन्। उनले यस कार्यक्रममा ‘नवोदय नृत्य कलाकार सम्मान २०२५’ पनि प्राप्त गरेका छन्।जुनियर विजेता पंलेस्वा रघुवंशी, नेसनल युनाइटेड स्कुल कक्षा ९ की विद्यार्थी, ८ वर्षदेखि नृत्ययात्रामा सक्रिय रहँदै नेपाल तथा भारतका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति दिँदै आएकी छिन्।
उनको योगदानलाई मननीय ठहर गर्दै उनलाई पनि ‘नवोदय नृत्य कलाकार सम्मान २०२५’ प्रदान गरिएको हो।सिनियर विजेता सदिक्षा पौडेल, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज कक्षा ११ की विद्यार्थी, निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा प्रभावशाली प्रस्तुति गर्दै नृत्ययात्रालाई उचाइमा पुर्याउँदै आएकी छन्।
यी प्रतिभाशाली कलाकारहरूलाई उच्च साधनातर्फ डोर्याउनमा गुरु स्वजन रघुवंशी र गुरु प्रमिला श्रेष्ठ रघुवंशीको महत्वपूर्ण भूमिका रहेको क्लासिक कल्चर सेन्टरले जनाएको छ। उनीहरूकै मार्गदर्शन, अनुशासन र कलात्मक संस्कारले विद्यार्थीहरू यो उपलब्धिमासम्म पुगेका हुन्।सोही अवसरमा गुरु स्वजन रघुवंशी र गुरु प्रमिला श्रेष्ठ रघुवंशीलाई पनि कला–नृत्य क्षेत्रमा गरेको योगदानको कदरस्वरूप ‘कलावंत गुरु सम्मान २०२५’ द्वारा विशेष सम्मान प्रदान गरिएको थियो।



प्रतिक्रिया