बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर


ग्लोब नेपाल
162
Shares

विराटनगर । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने ७० वर्षीय भक्तबहादुरराई गम्भीर बिरामी पर्नुभएको छ । बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उनकी पत्नी इन्द्रमाया राईसमेत बेहोस भेटिएकी थिइन ।

बेहोस अवस्थामा रहेका दम्पतीलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उपचारमा रहेका भक्तबहादुरको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले खानामा विष मिसाइएको खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेको खोरमा तीन वटा कुखुरासमेत मृत अवस्थामा फेला परेपछि स्थानीयले विष सेवन भएको आशङ्का गरेका थिए ।

घटनामा संलग्न रहेको आरोपमा भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेसँगै सुनीताले खानामा विष मिसाएको र त्यसपछि विषको बट्टा अँगेनामा जलाएको बयान दिएको प्रहरीले जनाएको छ । बट्टा जलेको अवस्थामा बरामद गरिएको छ ।

घटनामा प्रयोग गरिएको विष र कारणबारे पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र प्रयोगशाला रिपोर्टपछि मात्र निश्चित जानकारी आउने प्रहरीले जनाएको छ । प्रहरीले सुनीताविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

वृद्ध दम्पतीसँगै बस्ने भतिजो प्रशान राई घरबाहिर हुँदा घटनाको योजना भएको हो । घटनाका कारणबारे प्रहरीले पारिवारिक कलह हुनसक्ने अनुमान गरेको छ ।

घटनापछि स्थानीयले निष्पक्ष र व्यापक रुपमा अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । प्रहरी टोली इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ ।