सरकारले रुग्ण आयोजना व्यवस्थापनका नाममा त्रास फैलायाे : अध्यक्ष सिंह

सरकारले रुग्ण आयोजना व्यवस्थापनका नाममा त्रास फैलायाे : अध्यक्ष सिंह



काठमाडौं । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनका नाममा त्रास फैलाएको बताएका छन् ।

निर्माण दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरूलाई राज्यले प्रताडित गर्न नहुने बताएका हुन् ।

अध्यक्ष सिंहका अनुसार एकतर्फी रूपमा निर्माण उद्योगको मात्रै त्रुटि देखाएर नागरिकसमक्ष उद्योगीको मानमर्दन गर्ने काम सरकारले बन्द गर्नुपर्छ । रुग्ण ठेक्काको व्यवस्थापन सही रूपमा हुनुपर्ने बताउँदै उनले सार्वजनिक ऐनको दफा ६९ को ३ र ८ यथाशीघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनुपर्नेसमेत बताए ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पछिल्लो समय मन्दिले असर गरेको बताए । उनका अनुसार हिजोका दिनमा गरिएका कानूनी त्रुटि, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरूले पनि यो अवस्था आएको हो । कानून र खरिदसम्बन्धी त्रुटिहरूलाई सुधारेर लैजानुपर्ने उनको भनाइ छ ।