डा. आरजु देउवाको निर्वाचन क्षेत्र कैलाली–५

डा. आरजु देउवाको निर्वाचन क्षेत्र कैलाली–५



काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यसपटक पनि कैलाली निर्वाचन क्षेत्र–५ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भएकी छन् । २०७४ को आम निर्वाचनमा एमाले उम्मेदवार नारादमुनी रानासँग ४ हजार ८ सय ८० मतले पराजित भएकी थिइन् । नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा पत्नी २०७९ को आमनिर्वाचनमा समानुपातिकबाट सांसद बनेकी थिइन् ।

संविधानतः लगातार समानुपातिक उम्मेदवार बन्न पाइँदैन । त्यसैले डा. आरजु यसपटक पुरानै निर्वाचन क्षेत्र कैलाली–५ मा निर्वाचन लड्ने तयारीमा जुटेकी छन् । जेनजी आन्दोलन पश्चात् डा. राणा स्थानीय कार्यकर्ता, जनप्रतिनिधि र पार्टी नेतृत्वसँग निरन्तर सक्रिय देखिएकी छन् ।

हालै कैलाली–५ का कांग्रेस क्षेत्रीय सभापति भिम पडाल, सचिव बिजय जोशी, तथा धनगढी उपमहानगरपालिका कांग्रेस सभापति यज्ञराज उपाध्याय लगायत नेताहरूबीच भएको आन्तरिक परामर्शपछि डा. राणाको नाम १ नम्बरमा सिफारिस भएको छ ।

गत निर्वाचनमा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका थिए । उनले एमाले उम्मेदवार नारादमुनि रानालाई १ हजार ७४ मतान्तरले पराजित गरेका थिए । प्रदेशमा (क) मा माओवादीका रमेशसिंह धामी र (ख) मा कांग्रेसका प्रकाशबहादुर देउवा निर्वाचित भएका थिए । कांग्रेसबाट विद्रोही उम्मेद्वार बनेका पुष्करनाथ ओझाले ८ हजार ३ सय ४९ मत प्राप्त गरेका थिए ।

धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा यो निर्वाचन क्षेत्रमा पर्छ । धनगढी उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार गोपी हमालले जितेका छन् । २०७४ को निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बन्ने भएपछि कांग्रेसका पुराना नेता ओझालगायत एउटा ठूलो समूहले कांग्रेस त्यागेको थियो । यसपटक के हुने हो त्यो हेर्न केही समय पर्खिनुपर्ने हुन्छ ।