विराटनगर । नेपाली कांग्रेस मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ ।
नेपाली कांग्रेस मोरङ १ का क्षेत्रीय सभापति शङ्कर राईका अनुसार मोरङ–१ बाट प्रत्यक्ष तर्फ निवर्तमान सांसद एवम् नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु, कोशी प्रदेशका सहमहामन्त्री एवम् उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्गबहादुर फागो र पूर्व महासमिति सदस्य दिब्या बस्नेतको नाम सिफारिस गरिएको छ ।
समानुपातिक तर्फ सीता कार्की र इन्दु चौधरीको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभाका लागि ललित अधिकारीको नाम सिफारिस गरिएको छ ।
मोरङ २ का क्षेत्रीय सचिव भुलबहादुर कार्कीका अनुसार प्रत्यक्ष तर्फ डा. मीनेन्द्रप्रसाद रिजाल, शिवनारायण सिंह र नारायणी पण्डितको नाम सिफारिस भएको छ । रिजाल पूर्व मन्त्री एवम् पार्टीको केन्द्रीय सदस्य, सिंह कोशी प्रदेशसभाका निवर्तमान सांसद हुन् भने पण्डित पार्टीको भातृ संस्था नेपाल महिला संघको क्षेत्रीय सभापति हुन् । मोरङ २ बाट समानुपातिकतर्फ सुजाता कोइराला र गोपालामानसिंह राजभण्डारीको नाम सिफारिस गरिएको छ ।
मोरङ ३ का सचिव राजेन्द्रबहादुर अधिकारीका अनुसार प्रत्यक्ष तर्फ निवर्तमान सांसद एवम् महासमिति सदस्य डा. सुनीलकुमार शर्माको नाम मात्र सिफारिस भएको छ । समानुपातिक तर्फ सात जना र राष्ट्रियसभाका लागि पाँच जनाको नाम सिफारिस भएको सचिव अधिकारीले जानकारी दिएका छन् ।
मोरङ ४ बाट प्रत्यक्ष तर्फ पूर्वमन्त्री महेश आचार्य, पूर्व राज्यमन्त्री दिलिपकुमार गच्छदार, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष गुरुराज घिमिरे र क्षेत्रीय सभापति बिनोद बस्नेतको नाम सिफारिस गरिएको छ । मोरङ ४ बाट सिफारिस भएका नेतामा बिनोद बस्नेतबाहेक सबै पुराना नेता हुन् । यद्यपि घिमिरेले हालसम्म चुनाव जितेका छैन ।
यस्तै, मोरङ ५बाट प्रत्यक्ष तर्फ चार जना नयाँ अनुहारको नाम सिफारिस भएको छ । पूर्व आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी, कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङका पूर्व प्रशिक्षण विभाग प्रमुख फूलकुमार लालवानी र फैयाज रैनको नाम सिफारिस गरिएको छ । मोरङ–५ मा सामानुपातिक तर्फका उम्मेदवार छनोटको काम अझै टुङ्गो लागेको छैन । कोशी प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ताले भने, ‘प्रत्यक्ष तर्फ अझै पनि सहमति जुटाएर दुई जनाको मात्र सिफारिस गर्ने तयारी भइरहेको छ ।’
मोरङ ६ बाट प्रत्यक्ष तर्फ डा.शेखर कोइरालाको नाम मात्र सिफारिस गरिएको छ । समानुपातिक तर्फ रमेशजङ्ग रायमाझी, डा. डिला संग्रौला, रुक्मिणी कोइराला, प्रमिला गच्छदार, मृदुला कोइराला, सीता घिमिरे र सरिता राना मगरको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति देवराज तामाङले जानकारी दिए ।
नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले मङ्सिर २५ गते बस्ने जिल्ला समितिको बैठकले नामहरू माथि छलफल गरी कोशी प्रदेश समितिमा पठाउने बताएका छन् । कोशी प्रदेश सभापति उद्धव थापाले मङ्सिर २७ गते प्रदेश समितिको बैठक बसेर २८ गते केन्द्रीय समितिमा नाम पठाउने जानकारी दिएका छन् ।


प्रतिक्रिया