प्रख्यात रेस्लर जोन सिना वर्ल्ड रेसलिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) बाट बिट मार्ने भएका छन । टेलिभिजन, सीडीरडीभीडी होस् अथवा युट्युबबाट धेरैले डब्ल्यूडब्ल्यूईलाई धेरे रुचिपूर्वक हेरे । र, अहिले पनि हेरिरहेका छन् ।
रेस्लिङ खेल र यसका खेलाडीहरूलाई लिएर यसका पारखीबीच चर्चा, बहस हुने गर्छ । यही खेलका एक महान् खेलाडी हुन्, जोन सिना । पहिरन, व्यक्तित्व, चरित्र र बारम्बार भनिरहने भनाइ आदिका कारण उनी धेरैको मनमा बस्न सफल भए । अहिले ४८ वर्षमा हिँडिरहेका उनले यो क्षेत्रमा २५ वर्षभन्दा बढी समय बिताइसकेका छन् । अब भने उनी आफ्नो करियरलाई बिट मार्ने तयारीमा छन ।
उनको त्यो निर्णयले अहिले धेरै जनालाई मर्माहित पारिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार जोन सिनाले यसै १३ डिसेम्बरमा वाशिङ्गटन डी.सीको क्यापिटल वन एरिनामा हुने ‘सटर्डे नाइट मेन इभेन्ट’ मा ‘द रिङ जनरल गुन्थर’सँग आफ्नो अन्तिम खेल खेल्नेछन् ।
उनको यो विदाइको घोषणा भने जुलाई २०२४ मा मनी इन द बैंक नामक कार्यक्रममा गरिएको थियो । आजको दिनसम्ममा उनले डब्ल्यूडब्ल्यूईको १७ वटा विश्व च्याम्पियनशिप जितेका छन् । जुन आफैंमा दुर्लभ कीर्तिमान हो । धेरैले डब्ल्यूडब्ल्यूईलाई खिचिएको कुश्ती खेल भन्छन् । जुन सत्य पनि हो ।
किनकि खेल स्क्रिप्टमा आधारित हुन्छ । यद्यपि यसमा समावेश खेलाडीहरू व्यावसायिक कुश्ती खेलाडी हुन्छन् । त्यसमा जोन सिनाले दुर्लभ फेम कमाउन सके । अब एक खेलपछि उनी रिङमा देखिने छैनन् ।
यद्यपि इतिहासमा शन माइकल्स, ट्रिश स्ट्राट्स, एजे ली र स्टोन कोल्ड स्टिभ अस्टिन जस्ता धेरै डब्ल्यूडब्ल्यूई प्लेयरले सन्यास घोषणा गरेपनि फेरि रिङमा फर्किएका उदाहरणहरू छन् ।
यद्यपि जोन सिनाले भने गुन्थरसँग नै आफ्नो अन्तिम प्रतिस्पर्धा हुने बताइरहेका छन् । त्यो कुरालाई विश्वास गर्ने अर्को आधार उनको टेलिभिजन र फिल्म करियर पनि हो । आजको दिनसम्ममा जोन सिनाले ३५ फिचर फिल्म, २६ सिरिज, ५ टेलिफिल्म, ६ भिडियो गेम र एउटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । गत वर्ष उनले आफ्नो सन्याषको घोषणा गर्ने बेलामा अब फिल्मी करियरमा केन्द्रित हुने बताएका थिए ।
त्यसो हुनाले पनि उनी फेरि रिङमा नफर्कने बलियो आधार देखिन्छ । दुई दशकभन्दा बढी समय डब्ल्यूडब्ल्यूईको रिङमा बिताएका जोन सिनाले रिङमा फेसनमार्फत समेत राम्रै प्रभाव पारे ।
जोन सिनाले सधैँ जोर्ट्स लगाउँथे । यो भनेको जिन्सको हाफ पाइन्ट हो । सन् २००० को दशकमा यो निकै लोकप्रिय भएको थियो । सन् २०१० पछि यसको क्रेज घट्यो । तर अहिले जेनजी पुस्ताले पनि जोर्ट्स लगाउन थालेका छन् ।


प्रतिक्रिया