हेलिकप्टर चढाएर हेडसरको बिदाइ, सबै भावुक

हेलिकप्टर चढाएर हेडसरको बिदाइ, सबै भावुक


ग्लोब नेपाल
0
Shares

काठमाडौं । गोरखाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई हेलिकप्टर चढाएर विदाइ गरिएको छ । ३८ वर्ष निरन्तर सेवारत रहेर निवृत्त भएका शिक्षक ईन्द्र उपरकोटीलाई गण्डकी माध्यमिक विद्यालयले हेलिकप्टर चार्टर गरी बिदाइ गरेको हो ।

सामान्यतया शिक्षकहरूलाई सेवापछि फूलमाला र गाजाबाजासहित बिदाइ गर्ने गरिन्छ । तर, धार्चे गाउँपालिका–२ रुञ्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३८ वर्ष पढाएका उपरकोटीलाई शिक्षक, विद्यार्थी र अभिभावकले पैसा उठाएर हेलिकप्टर चढाएर काठमाडौं पठाएका थिए ।

चितवन घर भएका उपरकोटीको लागि स्थानीयले काठमाडौँदेखि भरतपुरसम्मको हवाइ टिकटसमेत काटिदिएका थिए । यसप्रकारको सम्मानपछि कार्यक्रममा शिक्षक उपरकोटी पनि भावुक बने ।

बताइएअनुसार उपरकोटीले ०४५ फागुन १९ गतेदेखि उक्त विद्यालयमा अध्यापन शुरु गरेका थिए । त्यतिबेला प्राथमिक तहको मात्रै पठनपाठन हुने उक्त विद्यालय उपरकोटीकै नेतृत्वमा माध्यामिक बनाइएको स्थानीय बताउँछन् ।

उपरकोटी नेतृत्व क्षमता तथा विद्यार्थी र अभिभावकसँगको सामिप्यताले गाउँमा लोकप्रिय बनेका हुन् । उनको मृदुभाषी बोली र सरल व्यवहारबाट स्थानीय सधैँ नतमस्तक बनेका थिए ।