५ शव नेपाल ल्याउने तयारी

५ शव नेपाल ल्याउने तयारी


ग्लोब नेपाल
108
Shares

काठमाडौं । भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल थालेको छ ।

उक्त नाइटक्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । अन्य छ जनाभन्दा बढी घाइते भएका थिए । गोवा प्रहरीका अनुसार उक्त घटनामा मृत्यु भएका नेपाली नागरिकमा दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका विवेक अर्थात् लीलबहादुर कटुवाल, झापाका सबिन विश्वकर्मा र सुदीप गुरुङ छन् । त्यस्तै मृत्यु हुनेमा डडेलधुराका मनोज जोरा पनि रहेको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार उक्त आगलागीमा परेर मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । दिल्लीस्थित नेपाली दूतावास तथा त्यहाँ काम गर्न बसेका अन्य स्थानीय नेपालीको समन्वयमा नेपाली नागरिकहरूको शव नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

यसका लागि दूतावासले आवश्यक कागजपत्र बनाउने प्रक्रिया सकेको छ । गोवा प्रहरीको सहयोगमा चूर्णबहादुरको शवलाई एयर एम्बुलेन्समार्फत लखनउ र त्यहाँबाट शव वाहनमार्फत घरसम्म पु-याउने व्यवस्था गरिएको छ । अन्यको हकमा पनि थप पहल जारी रहेको र स्थानीय नेपालीहरूले आर्थिक जोहोसमेत गरेर शव पठाउने व्यवस्थामा सघाइरहेको जनाइएको छ ।