अर्को वर्ष फेब्रुअरी १२ मा बंगलादेशमा निर्वाचन आयोगले देशको १३ औँ राष्ट्रिय संसदीय निर्वाचन र जनमत संग्रह हुने घोषणा गरेको छ । देशका प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले बिहीबार राति पूर्व–रेकर्ड गरिएको टेलिभिजन सम्बोधनमा यो घोषणा गरेका हुन् ।
उनले डिसेम्बर २९ सम्ममा मनोनयन दर्ता गर्नुपर्ने बताएको छ । जुन डिसेम्बर ३० देखि जनवरी ४ सम्म जाँच गरिनेछ । चुनाव आयोगले गत महिना १२ करोड ७० लाख भन्दा बढी मतदाता दर्ता भएको बताएको थियो । मुख्य सल्लाहकार मुहम्मद युनुसले बुधवार १३ औँ राष्ट्रिय चुनावलाई गत वर्ष जुलाईमा भएको जनविद्रोहपछि नयाँ बङ्गलादेश निर्माण गर्ने ऐतिहासिक अवसरको रूपमा वर्णन गरे ।
यसलाई निष्पक्ष र विश्वसनीय तरिकाले सञ्चालन गर्नुपर्नेमा जोड दिए । बंगलादेशको संसद ३५० सदस्य मिलेर बनेको एक सदनात्मक व्यवस्थापिका हो । यसको संरचना दुई वर्गमा विभाजित छ । प्रत्यक्ष मतदानबाट निर्वाचित ३०० सदस्यहरू र महिलाका लागि आरक्षित ५० सदस्यहरू छन् । आम चुनाव बाहेक बङ्गलादेशले आफ्नो राज्य सुधार प्रस्तावहरूमा राष्ट्रिय जनमत संग्रह गर्नेछ । जसले देशको राजनीति र संस्थाहरूलाई पुनः आकार दिन र २०२४ को विद्रोहलाई संवैधानिक मान्यता दिन खोज्छ ।
बंगलादेशको आगामी जनमत संग्रहमा एउटा ठुलो निर्णय संसद्मा दोस्रो सदन सिर्जना गर्ने कि नगर्ने भन्ने हो । यदि स्वीकृत भएमा संविधानमा भविष्यमा हुने सबै परिवर्तनहरूलाई यस नयाँ माथिल्लो सदनको समर्थन चाहिन्छ । राष्ट्रिय चुनावमा राजनीतिक दलहरूले प्राप्त गरेको मतको अनुपातमा १०० सदस्यीय माथिल्लो सदन गठन गरिनेछ । कुनैपनि संवैधानिक संशोधनलाई माथिल्लो सदनका सदस्यहरूको बहुमतको अनुमोदन आवश्यक पर्नेछ ।
बङ्गलादेशी आयोगले पूर्वप्रधानमन्त्री शेख हसिनाको राजनीतिक दलको दर्ता पहिले नै निलम्बन गरिसकेको छ । भविष्यको चुनावमा भाग लिनबाट रोक लगाइएको छ । बंगलादेशको राजधानी ढाकामा रहेको एक विशेष न्यायाधिकरणले गत महिना २०२४ मा देशको जुलाई विद्रोहको क्रममा मानवता विरुद्धको अपराधको लागि अपदस्थ पूर्वप्रधानमन्त्रीलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।


प्रतिक्रिया