काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११ औं महाधिवेशन उद्घाटन सत्र र नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट फाइनल एकै दिन अर्थात् आज परेको छ । उद्घाटन सत्रमा सहभागी हुन देशभरिबाट एमाले कार्यकर्ता राजधानीमा जम्मा भएका छन् । भक्तपुरमा हुने उक्त उद्घाटन समारोहमा एमालेले ३ लाख मानिस कार्यक्रममा सहभागी गराउने लक्ष्य राखेको छ ।
कार्यक्रममा विशाल जनसहभागिता देखाउन एमालेले देशैभरिका शुभेच्छुकलगायत कार्यकर्तालाई राजधानीमा बोलाएको छ । तर एनपिएलको फाइनल पनि आजै भएकाले सम्भव भए टुयु मैदानमै पुगेर खेल हेर्ने सम्भव नभए घरमै टेलिभिजन वा मोबाइलबाट खेल हेर्न इच्छा राख्नेको जमात ठूलो भएको भेटिएको छ । जसले गर्दा एमालेले तयारी गरेअनुसार उद्घाटन सत्रमा भेला हुनेको संख्या न्यून हुने बताइएको छ ।
फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनीको सामना गर्दैछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका सर्वसाधारण एमालेको तामझामभन्दा आफ्नो प्रदेशले खेल जितेको हेर्न बढी उत्साहित रहेका छन् । एमाले महाधिवेशनमा सहभागी हुने बुटवलबाट काठमाडौं आएका कपिल ज्ञवाली मैदानमै गएर खेल हेर्ने प्रयासमा टिकटका लागि शनिबार बिहानसम्म भौतारिरहेका छन् । पूर्व खेल पत्रकारसमेत रहेका ज्ञवालीले महाधिवेशनलाई भन्दा क्रिकेट फाइनललाई महत्व दिन बताए ।
‘महाधिवेशनमा त आइतबारदेखि सहभागी हुन मिल्छ, फाइनल खेल प्रत्यक्ष हेर्ने अवसर आजै मात्र हो’ धनगढीबाट आएका एमाले कार्यकर्ता दिपक धामीले भने, ‘टिकट पहिले नै किनिसकेको छु, म एमाले उद्घाटन सत्रमा होइन, टियु क्रिकेट मैदानमा हुनेछु ।’
धामी र ज्ञवाली मात्र होइन, महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका धेरै एमाले कार्यकर्ता भक्तपुरमा होइन, टियु क्रिकेट मैदानमा भेटिने छन् । फाइनल खेल हुने टियु क्रिकेट मैदानमा २० हजार दर्शक क्षमता राख्छ । यसको टिकट शुक्रबार १ घन्टामा बिक्री भइसकेको थियो । टेलिभिजन र मोबाइलमा हेर्नेको संख्या पनि त्यत्तिकै छ ।
देशभित्र र बाहिर गरेर झन्डै एक करोड दर्शकले एनपिएल क्रिकेट फाइनल खेल हेर्ने अनुमान नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले गरेको छ । स्पोर्ट स्टार र कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रशारण हुने खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । एमालेको उद्घाटन सत्र पनि अपरान्ह २ बजेबाट सुरु हुँदैछ ।
पछिल्लो समय क्रिकेट खेलको लोकप्रियता र राजनीतिक दलप्रतिको वितृष्णा आज देखिने जानकारहरु बताउँछन् । सर्वसाधारणले राजनीतिक दललाई हेर्ने दृष्टिकोण सकरात्मक छैन । त्यसमाथि पनि जेन–जीमाथि गोली प्रहार गर्ने सरकारका प्रमुख केपी ओलीको पार्टी भनेपछि जनता सकरात्मक बन्न नसक्ने बताइएको छ ।


प्रतिक्रिया