एनपिएल उपाधि लुम्बिनी लायन्सलाई

एनपिएल उपाधि लुम्बिनी लायन्सलाई

रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तमा लुम्बिनी लायन्सले जितेको छ । सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेर लुम्बिनी लायन्सले उपाधि जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । लुम्बिनीले ९ ओभेर खेलेर ४ विकेटको नोक्सानीमा लक्ष्य भेटाएको हो । लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले १३ बल खेलेर ४२ रन जोडेपछि जीतको आधार तय भएको थियो । लुम्बिनीका लागि अर्का ओपनर डासी सटले १४ र कप्तान रोहित पौडेलले १६ रनको योगदान दिएका थिए ।

सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०–१० रन जोड्न सके । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहिरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । उसका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान तीनरतीन विकेट हात पारे । यस्तै, टीका भण्डारीले एक विकेट लिए ।

रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् ।

उनले आजको फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिएका हुन् । योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् ।

यसअघि काठमाडौँ गोर्खाजका शाहव आलमले यो सिजनमा पहिलो ह्याट्रिक गरेका थिए । पोखरा एभेञ्जर्सविरूद्ध ह्याट्रिकसहित छ विकेट लिँदै उनले रेकर्ड बनाएका थिए । शाहव एकै खेलमा छ विकेट लिने पहिलो बलरसमेत बनेका थिए ।

यसअघि चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा पाँच विकेट लिएका थिए । यस्तै एकै खेलमा चार विकेट लिने खेलाडीहरूमा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी, सुदूरपश्चिमकै अविनाश बोहरा, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने, पोखरा एभेञ्जर्सका विपीन खत्री, चितवन राइनोजका सोहेल तनभिर र पोखराका धनन्जय लक्षन रहेका छन् ।