ललितपुर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई संकटबाट निकास दिने ऐतिहासिक जिम्मेवारी फेरि एकपटक काँग्रेसको काँधमा आएको बताएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका कमजोरी स्वीकार्दै अब फराकिलो छाती बनाएर जनतामा जानुपर्नेमा जोड दिएका हुन् ।
महामन्त्री थापाले निर्वाचन जित्नका लागि केवल भोट माग्दै हिँड्नुभन्दा जनताको मन जित्ने गरी काम गर्नुपर्ने धारणा राखे । ‘ठिक ढंगले काम गर्न सके निर्वाचन आफैँ जितिन्छ,’ उनले भने, ‘मतदाता र मतले हामीलाई पछ्याउने वातावरण बनाउनुपर्छ, हामी मतको पछि लाग्ने होइन ।’
विगतमा देशलाई हिंसा र जातीय द्वन्द्वको भुमरीबाट काँग्रेसले नै बाहिर निकालेको स्मरण गर्दै थापाले वर्तमान अवस्थामा पनि देशलाई सम्हाल्ने दायित्व काँग्रेसकै भएको उल्लेख गरे । उनले भने, ‘इतिहासले फेरि एकपटक हामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । सबैलाई समेटेर अघि बढ्दै नागरिकका असन्तुष्टि र आक्रोशलाई शान्त पार्ने काम अब काँग्रेसले गर्नुपर्छ ।’
नेकपा एमालेप्रति लक्षित गर्दै उनले भीडलाई उकास्ने र उत्तेजित बनाउने चरित्र काँग्रेसको नभएको स्पष्ट पारे । भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गरिने प्रतिबद्धता समेत उनले जनाए ।
महामन्त्री थापाले गर्वका साथ शिर ठाडो पारेर, भएका गल्ती सच्याउने संकल्पसहित समुदायको बीचमा जान कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले राम्रो काम गरे चुनाव जित्न ‘चुनाव’ भनिरहनु नपर्ने र नतिजा आफैँ अनुकूल हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया