काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । पार्टीले निर्वाचन प्रक्रियालाई छिटो र व्यवस्थित बनाउन यसपटक विद्युतीय उपकरण (भोटिङ मेसिन) को प्रयोग गर्न लागेको हो ।
निर्वाचन मण्डलले उम्मेदवारहरूको अन्तिम नामावली उपलब्ध गराउन ढिलाइ गर्दा मतदान प्रक्रिया अपराह्नतिर धकेलिएको छ । प्राविधिक लक्ष्मण रिमालका अनुसार, एमाले निर्वाचन आयोगले सोमबार राति १ बजे मात्र उम्मेदवारको ‘फाइनल लिस्ट’ उपलब्ध गराएको थियो ।
अहिले निर्वाचन गराउने जिम्मेवारी पाएको ‘रामलक्ष्मण इनोभेसन’ अन्तर्गतको ब्यालोट सोलुसनले उम्मेदवारहरूको तस्बिर कोडिङ गर्ने कार्य गरिरहेको छ । मेसिनमा उम्मेदवारको विवरण तथा तस्बिर सूचीकृत (सेटिङ) गर्न अपराह्न ४ बजेसम्म लाग्ने बताइएको छ । उक्त प्राविधिक काम सकिएलगत्तै मतदान प्रक्रिया आरम्भ हुनेछ ।
चुनावी मैदानमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेतृत्व चयनका लागि देशभरबाट आएका भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय र मनोनीत गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन् ।
विद्युतीय मेसिन प्रयोग गरिए पनि मतदानका लागि भने उल्लेख्य समय लाग्ने देखिएको छ । धेरै पद र उम्मेदवार भएका कारण एकजना मतदातालाई मतदान प्रक्रिया पूरा गर्न कम्तीमा ३५ देखि ४० मिनेटसम्म लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया