काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले आफ्नो पदबाट राजीनामा दिएका छन् । सक्रिय दलीय राजनीतिमा नै समय व्यतीत गर्ने उद्देश्यसहित उनले राष्ट्रपतिको विज्ञ सल्लाहकारको भूमिकाबाट अलग्गिने निर्णय लिएका हुन् ।
केही दिनअघि नै राष्ट्रपतिसमक्ष पेस गरिएको उनको राजीनामा स्वीकृत समेत भइसकेको छ । सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै थापाले पार्टीको आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै आफू पुनः पूर्णकालीन राजनीतिमा फर्कन चाहेको बताएका छन् । ‘मैले राष्ट्रपतिज्यूसमक्ष बुझाएको राजीनामा स्वीकृत भइसकेको छ,’ थापाले प्रस्ट्याए, ‘पार्टीको महाधिवेशन सन्निकट छ, तसर्थ अब पार्टीमै बढी क्रियाशील रहने निष्कर्षमा पुगेँ ।’
थापालाई २०७९ चैत १६ गते राष्ट्रपति पौडेलले आफ्नो राजनीतिक सल्लाहकारका रूपमा नियुक्त गरेका थिए । शितल निवासको जिम्मेवारी सम्हाल्नुअघि उनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिका सदस्यका रूपमा क्रियाशील थिए ।


प्रतिक्रिया