बीबीसी विरुद्ध ट्रम्पले दायर गरे ५ अर्ब डलरको मुद्दा

बीबीसी विरुद्ध ट्रम्पले दायर गरे ५ अर्ब डलरको मुद्दा



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा पानोरामा वृत्तचित्रमा प्रसारण गरिएको आफ्नो भाषणको सम्पादन गरिएको विषयलाई लिएर बीबीसी विरुद्ध ५ अर्ब डलरको मुद्दा दायर गरेका छन् ।

फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा ट्रम्पले प्रसारकलाई मानहानि र व्यापार अभ्यास कानून उल्लङ्घनको आरोप लगाएका छन् ।

बीबीसीले गत महिना ट्रम्पसँग माफी मागेको थियो तर क्षतिपूर्तिको लागि उनको माग अस्वीकार गरेको थियो । ‘मानहानि दावीको लागि कुनै आधार’ नरहेको बीबीसीले जनाएको थियो ।

बीबीसीमाथि ट्रम्पका अधिवक्ताहरुले ‘जानाजानी, दुर्भावनापूर्ण र छलपूर्ण रूपमा उनको भाषणलाई छल गरेर’ ट्रम्पको बदनाम गरेको आरोप लगाएका छन् । बीबीसीले अहिलेसम्म मुद्दाको जवाफ दिएको छैन ।

२०२४ को अमेरिकी चुनावअघि बेलायतमा प्रसारित वृत्तचित्रको लागि बीबीसीलाई मुद्दा हाल्ने योजना बनाएको ट्रम्पले गत महिना बताएका थिए ।

ट्रम्पले बीबीसीमाथि धोकाको आरोप लगाउँदै आएका छन् । उनले आफ्ना मुखबाट निस्केका शब्दहरू परिवर्तन गरेको समेत दाबी गर्दै आएका छन् ।