शुक्रअस्तमा भएको अघिल्लो निर्वाचनले के परिणाम दियो ?

शुक्रअस्तमा भएको अघिल्लो निर्वाचनले के परिणाम दियो ?



वैदिक सनातन संस्कृतिमा ज्योतीषशास्त्रको प्रमुख भुमिका हुन्छ । जुन ज्योतिषशास्त्रले व्याक्तिको मात्र नभई राष्ट्रका बारेमा पनि उत्तिकै महत्व बोकेको हुन्छ । राष्ट्रहितका लागि हुने गरेका हरेक शुभकर्म पनि ज्योतिषीय गणनाका आधारमा गर्ने हो भने त्यसको परिणामा सकारात्मक आउने ज्योतिषाचार्यहरुको मत छ ।

पृथ्वीनारायण शाहको उदाहरण पर्याप्त छ । हरेक कर्ममा पृथ्वीनारायण साहले ज्योषितशास्त्रलाई साथमा लिँदा परिणाम सकरात्मक आएको थियो । त्यसपछिका शासकहरुमा पनि ज्योतिषशास्त्रलाई आत्मसाथ गरेको उदाहरण प्रशस्त छन् ।

यतिखेर मुलुक विषम परिस्थितिमा गुज्रिरहेको छ । र, यो हुनुमा विभिन्न समुह अगाडि देखिए पनि त्यसको पछाडी हाम्रो वैदिक सनातन संस्कृति जोडिएको ज्योतिषाचार्यहरु दाबी गर्छन् ।

०७९ साल मसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नै अशुभ बेलामा भयो । देशको आम निर्वाचन पनि शुभ कर्म मानिन्छ । शुक्र अस्ताएको बेला आम निवार्चन भएकैले पटकपटक सरकारको अदलबदलमात्र भएन बीचैमा नै संसद भंग हुन पुग्यो । त्यसबेला शुक्रअस्त भएको थियो । संसदमात्र भंग भएन ०७९ साल मंसिर ४ गते निर्वाचित जनप्रतिनिधिबाट बनेको सरकार भाग्नुपरेको थियो । व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकासमेत ध्वस्त भएको थियो ।

२०७९ मंसिर ४ गते शुक्रअस्तमा भएको आम निर्वाचन इतिहासमा नै बिर्सनलायक बन्यो । २०७९ असोज १३ गते शुक्रअस्ताएर मसिंर ६ गते उदाएको थियो । शुक्र उदाएको ३ दिनसम्म सुतक लाग्ने मान्यता छ । त्यही निर्वाचन मंसिर १२ गतेपछि भइदिएको भए नेपालमा यस्तो विषम परिस्थति नउब्जने ज्योतिषाचार्यको दाबी छ ।

युवा ज्योतिषाचार्य रविन्द्र कँडेलका अनुसार नेपाल भूमि वैदिक सनातन संस्कृति कै आधारमा चलेको बताउँछन् । उनका अनुसार नेपाल भूमिमा वर्तमानमा वैदिक सभ्यतालाई बेवास्ता गरियो । शासन सत्ताका प्रमुखले राष्ट्रहितका लागि गर्नुपर्ने न्युनतम् पुजापाठ र आरधना नगरिदा यो परिणाम आएको हो ।

त्यसो त काठमाडौंमा रहेको मृगस्थली सिद्धाचल धामका मठाधीश श्रृषनाथ योगीले पनि शासकले हिजोदेखि गरिदै आएको परम्परालाई निरन्तरता नदिँदा मुलुकमा यस्तै अराजकता फैलिरहने भनाई राख्छन् । मुलुकमा गणतन्त्र आइसकेपछि त झन् देशका प्रमुखहरुले हाम्रो सदियौ देखिको मुल्यमान्यतालाई कुल्चने काम भएको उनले बताए । उनले भने, ‘नेपाल गोरखनाथको भूमि हो, शासकले गोरखनाथको आशिर्वाद लिन नसक्दा वर्तमान अवस्था सिर्जना भएको हो ।

विभिन्न कार्यक्रममार्फत् ज्योतिषशास्त्रको महत्व जन–जनमा पु-याउँदै आएका ज्योतिष गोविन्द शास्त्रीलाई पनि पछिल्ला पटक मुलुकमा भएको दुर्दशाले मन पोलेको छ । त्यसो त उनले यस्ता संकट टर्नसक्ने स्थिति हुँदाहुँदै पनि त्यतातर्फ राज्यका बागडोर सम्मालेकाको ध्यान पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले मुलुकमा गरिने हरेक कर्महरुमा पनि ज्योतिषशास्त्रको ख्याल गर्नपर्ने उनको सुझाव छ ।

शुक्र र वृहस्पति अस्त, मलमासजस्ता अशुभ बेलामा व्याक्तिले मात्र होइन राज्य सञ्चालकले पनि हेक्का राख्नुपर्ने उनको भनाई छ ।

यतिखेर ४८ दिसम्म शुक्रअस्त हुँदैछ
यसपटक गत शनिवार मंसिर २७ गते दिउँसो १२ बजेर २५ मिनेटमा पुर्वदिशामा शुक्रअस्त भइसकेको छ । माघ महिनाको १५ गते राती १ बजेर २९ मिनेटमा उदय हुँदैछन् । यो समय शुक्रअस्त कै समय हो । शुक्र उदाइसकेपछि पनि तीन दिनसम्म सुतक काल रहने शास्त्रीय मान्यता रहेको छ ।

शुक्रअस्तका बेला गर्न नहुने कार्यहरु
ग्रह अस्ताएका बेला शुक्र निर्वल हुने हुँदा काम्य कर्मजस्तै विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । शुक्रअस्त भएको बेला कुवासम्म पनि खन्न मिल्दैन । यसको साथसाथै बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तककर्म), नवान्न भक्षण, प्रथम पटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बालकका संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूर्त्तचिन्तामणिमा उल्लेख छ ।

निर्वाचन पनि मुलककै शुभ कर्ममा पर्ने भएकोले यो बेला निवार्चन गर्न नमिल्ने ज्योतिषाचार्य कँडेलले बताए ।

यो बेला कस्ता कार्य गर्नु हुन्छ त ?
विशेषतः शुक्र, वृहस्पति ग्रह अस्त प्रकृतिको नियमित चक्र हो । यस्तो बेला बेलामा भइरहन्छ । यो वेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसै गरी नित्य कर्म अन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिंदै आएका व्रत उपासना पनि रोकिदैनन् ।

नैमित्तिक कर्म अन्तर्गत आइपर्ने नामाकरण, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । शान्ति कर्मका निीम्त पनि छुट दिएको पाइन्छ ।

यसैगरी महिना तोकेर भनिएका कर्म गर्न पछि छुट दिइएको छ । यसैगरी शुक्र अस्तमा सीमन्तोन्नयन, जातकर्म, अन्न प्राशन कार्य पनि गर्नुहुन्छ दोष लाग्दैन भनी बताइएको छ ।

कसरी हुन्छ शुक्र अस्त ?
वैदिक सनातन धर्म अनुसार प्रत्येक वर्ष शुक्र अस्त र बृहस्पति अस्त हुने गर्दछ । शुक्र ग्रह पूर्वमा अस्त भई पश्चिम दिशामा उदय हुने गर्दछ । शुक्र अस्त भएको वेला सूर्य र शुक्र एउटै राशिमा रहेका हुन्छन् ।

वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्रअस्त भन्ने गरिन्छ । रेवतीदेखि मृगशिरा नक्षत्रसम्म चन्द्रमा रहेको वेला पनि शुक्र अस्त हुने गर्दछ । यस्तो शुक्रअस्तको भने कुनै दोष लाग्दैन भनी शास्त्रमा बताइएको छ ।

घर, समाज अन्तत मुलुकका सञ्चालकहरुले पनि सदियौदेखि मान्दै आइएका शास्त्रीय मान्यताहरुमा आधारित मान्यता मान्नुपर्ने विभिन्न घटनाक्रमले पनि देखाएको पनि छ । वैदिक सनातन सभ्यता यस्ता मुल्य मान्यताहरु धेरै रहेका छन् । वैज्ञानिक आधारमा पनि यस्ता मान्यतहरु फगत मान्यता नभई प्रमाणका रुपमा पुस्तान्तरण हुँदै आएका छन् ।