कांग्रेस महाधिवेशन समय तालिका बिथोलियो

कांग्रेस महाधिवेशन समय तालिका बिथोलियो



काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको निर्धारित समय तालिका बिथोलिएको छ । निर्धारित समयमा सम्पन्न गर्नुपर्ने काम नसकिएपछि महाधिवेशनको समय तालिका बिथोलिएको हो । कांग्रेसले पुस २६, २७ र २८ गते १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका निधारण गरेको छ ।

पछिल्लो समय क्रियाशील फारम विवादले कांग्रेसभित्र नयाँ बहस सुरु भएको छ । क्रम संख्या उल्लेख नभएको फारम फिर्ता लिने र २४ घन्टाभित्र नयाँ पठाउने क्रियाशील केन्द्रीय छानबिन समितिको निर्णय हिजो पुस १ गते मात्र सार्वजनिक भएको छ । महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिका सदस्यमा प्रकाश स्नेही र सीता गुरुङ सदस्य छन् । उनीहरुले यो काम मंसिर २० गते नै सम्पन्न गरिसक्नुपर्ने थियो । तर पुसको पहिलो साता सुरु भइसक्दा पनि फारम जिल्ला पठाउने काम सम्पन्न भएको छैन ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार क्रम संख्या उल्लेख नभएको क्रियाशील सदस्य फारमबारे केन्द्रीय समितिको बैठकमा पनि छलफल भएको थियो । क्रम संख्या पछि थप्ने सहमतिमा फारम पठाउने केन्द्रीय समितिकै निर्णय हो । विश्वकर्माले भने, ‘छानबिन समितिले फेरि फिर्ता लिएर क्रम संख्या राखेको फारम पठाउने निर्णय गरेको छ ।’ हिजो नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेपछि समितिले क्रम संख्या नराखिएको फारम फिर्ता लिने निर्णय भएको हो ।

समय तालिकामा नै काम सम्पन्न गर्ने भनेर रातारात खटेर फारम जिल्लामा पुर्‍याइएको थियो, र फारम भराइयो पनि । अहिले आएर फिर्ता लिने निर्णय भएको छ । यो निर्णयसँगै जिल्लामा फेरि हंगमा सुरु भएको छ ।

मंसिर मसान्तभित्र सम्पन्न हुनुपर्ने काम एउटा पनि सम्पन्न भएको छैन । सुरु कै काम टुंगोमा नपुगेपछि बाँकी काम अबरुद्ध भएका हुन् । मंसिर २४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फारम पठाउने अवधि कार्यतालिकामा थियो ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्नुपर्ने थियो । वडा कार्यसमितिको बैठक बस्ने, आह्वान गर्ने, फारम भराउने र संकलन भएको फारमलाई सूचिकरण गर्ने र सो पश्चात बैठक बसी निर्णय, फारम र सूचिसहित पालिका कार्यसमितिलाई मंसिर २९ गतेभित्र बुझाउनुपर्ने थियो, जुन अहिले कुन फारम पठाउने विषयमा विवाद भएको छ ।

नेपाली जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण कार्य मंसिर मसान्तभित्रै गर्नुपर्ने थियो । त्यो पनि अहिलेसम्म सम्पन्न भएको छैन ।

प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस पनि केन्द्रमा आइपुगेको छैन । क्षेत्र र जिल्लाबाट सिफारिस भइसकेको उम्मेदवारको नामावली प्रदेशले केन्द्रमा उक्त नामावली पठाउनुपर्ने हो । तर प्रदेश समितिले आजको मितिसम्म नामावली पठाउन सकेको छैन ।

सबै काममा बिलम्ब भइरहेका बेला निर्धारण मितिमा कांग्रेसको १५ औं महाधिवेशन हुन्छ भन्नु अपत्यारिलोजस्तै बनेको कांग्रेसभित्र चर्चा चल्न थालेको छ ।