सीताका कारण गगन थापा नैतिक संकटमा

सीताका कारण गगन थापा नैतिक संकटमा



काठमाडौं । प्रतिनिधिसभामा तेह्रथुम जिल्लाबाट निर्वाचित सीता गुरुङलाई बाइपास गरेर महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस भएको छ । जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहाम्फेले महामन्त्री थापाको एकल नाम प्रदेशमा सिफारिस गरेका हुन् ।

महामन्त्री थापाको निर्वाचन क्षेत्र काठमाडौं–४ हो । एक व्यक्ति दुई निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न नपाउने स्पष्ट कानुन हुँदाहुँदै सभापति तुम्बाहाम्फेले महामन्त्री थापामाथि नैतिक संकटमा पार्ने काम भएको छ । ‘प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने कांग्रेस परम्पराको हुर्मत मात्र लिइएको छैन, महामन्त्री थापालाई नैतिक संकटमा पारिएको छ, तेह्रथुमे एक कांग्रेस कार्यकर्ताले भने, ‘पूर्वसांसद गुरुङसँग रिसइबी साँध्न जिल्ला सभापतिले यतिसम्मको हर्कत नगरेको भए हुन्थ्यो ।’

महामन्त्री थापा र केन्द्रीय सदस्य गुरुङ यतिबेला क्रियाशील केन्द्रीय छानबिन समितिमा एक साथ काम गरिरहेका छन् । तेह्रथुमबाट २०७९ को आम निर्वाचनमा कांग्रेसको तर्फबाट सीता गुरुङ निर्वाचित भएकी थिइन् । उनले एमालेका विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गरेकी थिइन् । उनी कांग्रेसबाट प्रत्यक्ष निर्वाचित हुने एक मात्र सांसद थिइन् । अघिल्लो निर्वाचनमा पराजित भए पनि तेह्रथुमबाट सीता प्रतिनिधिसभामा पहिलो पटक निर्वाचित भएकी हुन् । पहिलो पटक निर्वाचित भएको व्यक्तिलाई सोही निर्वाचन क्षेत्रमा दोस्रो पटक पनि उम्मेदवार सिफारिस गर्ने कांग्रेसमा परम्परा हो ।

यति मात्र होइन, जिल्ला सभापति तुम्बाहाम्फेले यो निर्णय कसरी गराएर प्रदेश समितिमा पु¥याए भन्नेबारे तेह्रथुम कांग्रेसमा खैलाबैला भएको छ । कांग्रेसबाट मन्त्रीसमेत भइसकेकी सीता स्थानीय तह र प्रदेश इकाइमा लोकप्रिय मानिन्छ । सीताको नाम प्रतिनिधिसभाको उम्मेदवारमा किन सिफारिस भएन भन्ने बारे स्थानीय जनप्रतिनिधि र प्रदेश इकाइमा खोजबिन सुरु भएको छ ।