ओली र लेखकलाई बयानका लागि बोलाउँदा नआए पक्राउ गरिने

ओली र लेखकलाई बयानका लागि बोलाउँदा नआए पक्राउ गरिने


ग्लोब नेपाल
297
Shares

काठमाडौं । जेनजी आन्दोलनमा भएको नरसंहार र २४ भदौको तोडफोड, लुटपाट, आगजनी सम्बन्धमा छानबिन गर्न गठित चाँजबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ । यदि बयानका लागि आउन उनीहरु तयार नभए पक्राउ गर्ने तयारीसमेत आयोगले गरेको बुझिएको छ ।

मुख्यसचिव, संसद सचिवालयका महासचिव, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, २३ र २४ गते फिल्डमा खटिएका सुरक्षा अधिकारीको बयान सकिएको भन्दै उनीहरुले ओली र लेखकको बाँकी रहेकाले अझै केही समय चाहिएको बताए । त्यस क्रममा पूर्वाग्रह साँध्न गठन गरिएको आयोगमा बयान दिन नजाने भन्ने ओलीको अभिव्यक्तिबारे समेत कुराकानी भएको थियो ।

ओलीलाई बोलाउने र नआए पक्राउ गरेर भए पनि बयान लिनुपर्ने प्रस्ताव आयोग अध्यक्ष र सदस्यहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग राखिसकेका छन् । त्यसका लागि उनीहरुले सरकारको सहयोग मागेका छन् । ‘ओली बयानमा आउनुहुन्छ भन्ने विश्वास छ’, आयोगका एक सदस्यले भने, ‘यदि आउनुभएन भने नियन्त्रणमा लिएर भए पनि बयान लिने तयारीमा छौं ।’

ओली स्वयंले पछिल्लो समय सार्वजनिक मञ्चहरुबाट आफूमाथि प्रतिशोध साँध्न प्रधानमन्त्री सुशीला कार्कीले पक्राउको तयारी गरेको बताउँदै आएका छन् ।

ओलीले २३ गते बानेश्वरमा प्रहरीको गोलीबाट प्रदर्शनकारी मारिएको घटनाको जिम्मेवारी आफूले लिन नसक्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीले गोली हान्न सीधै आदेश नदिने भएकाले त्यसको जिम्मेवारी गृह प्रशासन र सुरक्षा अधिकारीहरुको हुने तर्क ओलीको छ ।

तर, आयोग सदस्यहरु भने त्यो मान्न तयार छैनन् । कार्यकारी प्रमुखको नाताले ओलीले घटनाको नैतिक जिम्मेवारी लिनैपर्ने तथा जाँचबुझ आयोग ऐनअनुसार गठित आयोगमा आएर बयान दिनुपर्ने तर्क आयोग पदाधिकारीको छ ।

एक सदस्यका अनुसार एमालेको ११औं महाधिवेशन जारी रहेकाले तत्कालका लागि ओलीलाई नबोलाइएको हो । महाधिवेशनले नयाँ नेतृत्व चयन भएलगत्तै बोलाउने तयारीमा आयोग छ ।