निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल



रुपन्देही । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको वर्तमान राजनीतिक र आर्थिक स्थितिको निकासका लागि निर्वाचन नै अन्तिम विकल्प भएको बताएका छन् ।

रुपन्देहीको तिलोत्तमामा आयोजित १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र यसले नै देशमा स्थायित्व ल्याउने विश्वास व्यक्त गरेका हुन् ।

सोही अवसरमा मन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति र विस्तार प्रदेशको मात्र नभई राष्ट्रिय गौरवको विषय भएको चर्चा गर्दै यसका लागि बजेट तथा स्रोत व्यवस्थापनमा सरकारले कुनै कसर बाँकी नराख्ने आश्वासन दिए ।

औद्योगिक प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारले कर प्रणालीमा सुधार र प्रक्रियागत सरलीकरण गरिरहेको समेत उल्लेख गरे ।

कार्यक्रममा रुपन्देही उद्योग सङ्घ बुटवलद्वारा स्थापित रु ४८ हजार राशिको ‘उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०८१’ मेचीकाली राष्ट्रिय दैनिकका पत्रकार प्रकाश आचार्यलाई प्रदान गरिएको छ । मन्त्री खनालले आचार्यलाई पुरस्कार हस्तान्तरण गर्दै औद्योगिक विकासमा सञ्चार क्षेत्रले पुर्‍याएको योगदानको प्रशंसा गरे। उक्त प्रदर्शनी पुस १७ गतेसम्म सञ्चालन हुने र यसले स्वदेशी उद्यमीहरूलाई प्रविधि र बजारसँग जोड्ने लक्ष्य राखेको छ ।