कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौती : उद्योगमन्त्री सिन्हा

कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौती : उद्योगमन्त्री सिन्हा



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिकमा असन्तुष्टि बढ्दै गएको बताएका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले बजेटमा विभिन्न शीर्षकमा अबण्डा बजेट राख्ने प्रवृत्तिले नागरिक असन्तुष्ट रहेको र अर्थतन्त्र पनि कमजोर बनाएको बताए ।

“सार्वजनिक खर्चको उपयोगिता र सेवा सुधारको विषय पनि आजका दिन उत्तिकै महत्त्वपूर्ण छ,” मन्त्री सिन्हाले भने, “यो विषय नागरिकको दैनिकी राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग पनि प्रत्यक्ष जोडिएको छ ।”

सार्वजनिक खर्चको उपयोगिता, सेवा प्रवाह सुधार र आर्थिक सुशासन अहिलेको सबैभन्दा महत्त्वपूर्ण विषय भएको उनको भनाइ छ । यसले नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष सम्बन्ध राख्ने उनले बताए ।

“सार्वजनिक खर्चको दुरुपयोग भएन सदुपयोग भएन वा आर्थिक सुशासन कायम हुन सकेन भने गुनासोको प्रतिबिम्ब पनि यसै भदौ २३ गतेको जेनजी आन्दोलन त्यसैको परिणाम हो जस्तो मैले महशुस गरेको छु,” उनले भने ।

राज्यले कर, शुल्क र अन्तर्राष्ट्रिय सहायताबाट संकलन गरेको स्रोत, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गरे पनि त्यसको प्रतिफल नागरिकले अनुभूति गर्न नसकेको गुनासो रहेको उनको स्वीकारोक्ति छ ।