काठमाडौं । सामान्य घरायसी विवाद र आवेग नियन्त्रण गर्न नसक्दा उदयपुरमा एक दाजुले आफ्नै सहोदर भाइको हत्या गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१ मा शुक्रबार राति भएको यस दुखद् घटनामा ४३ वर्षीय युवराज राईको खुकुरी प्रहारबाट ३० वर्षीय भाइ धर्मराज राईको ज्यान गएको हो ।
घटनाको मुख्य कारण पारिवारिक विवाद देखिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, आरोपित दाजु युवराजले आफ्नी वृद्ध आमामाथि हातपात र कुटपिट गर्न थालेपछि भाइ धर्मराजले त्यसको प्रतिवाद गरेका थिए । आमालाई बचाउने क्रममा उब्जिएको विवादले उग्र रूप लिँदा आक्रोशित बनेका युवराजले घरमै रहेको खुकुरी झिकेर भाइमाथि अन्धाधुन्ध प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट शरीरका विभिन्न भागमा गहिरो चोट लागी गम्भीर घाइते भएका धर्मराजलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो । तर, अत्यधिक रक्तस्रावका कारण उपचारकै क्रममा राति २ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे ।
जघन्य अपराधपछि आरोपित युवराज राई घटनास्थलबाट फरार भएका छन् । प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि राखेको छ भने फरार अभियुक्तको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ । एउटा छोराको मृत्यु र अर्को छोरा हत्यारा बन्दा राई परिवारमा अहिले गहिरो सन्नाटा छाएको छ ।


प्रतिक्रिया