काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुनःस्थापना गर्नुपर्ने बताएका छन् । शनिवार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले हाल ट्र्याकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड दिए ।
उनले वर्तमान सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने दाबी गरे पनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नरहेको बताए । उनले पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा आएकाले १५ औँ महाधिवेशन हुनेमा शंका नगर्न उनले आग्रह गरे । तर महाधिवेशन विधिअनुसार हुनुपर्नेमा जोड दिए । पार्टीको विधान मिचेर महाधिवेशन हुन नसक्ने उनको भनाई छ । उनले पार्टीको क्रियाशील सदस्यता टुंगोमा पुर्याएपछि महाधिवेशन हुने बताए ।
उनले आगामी निर्वाचनमा पार्टीले खटाएको उम्मेदवारलाई जिताउनको लागि एकजुट भएर लाग्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिए ।


प्रतिक्रिया