काठमाडौं । एमालेको ईश्वर पोखरेल समूहले अध्यक्ष केपी ओलीबाट प्रतिशोधपूर्ण व्यवहार भए प्रतिवाद गर्ने निस्कर्ष निकालेको छ । शनिबार काठमाडौंको बबरमहलस्थित कार्की बेंकक्वेट भएको सो पक्षको भेलाले उक्त निस्कर्ष निकालेको हो ।
११औं महाधिवेशनमा पोखरेल दुई दिनअघि ओलीसँग पराजित भएका थिए । १९ सदस्यीय पदाधिकारीमा पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेशकुमार भट्टराई मात्र निर्वाचित भए ।
भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव भट्टराईले ओलीका सकारात्मक प्रस्तावलाई सहयोग र समर्थन गर्ने तथा पार्टी एकता खण्डित गर्ने, पक्षपात, गुटबन्दी, विभाजन, काखा र पाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निस्कर्ष निकालिएको जानकारी दिए । अध्यक्षमा निर्वाचित भएकामा ओलीलाई बधाई दिएको उनले बताए ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि लोकतान्त्रिक प्रतिष्पर्धा कति स्वस्थ वा मयार्दित भयो भन्नेबारे समेत छलफल भएको भट्टराईले उल्लेख गरे । प्रतिनिधि छनौटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भीर प्रश्नहरु उठाएको उनको भनाइ थियो ।
संगठन विभागसहित पार्टी संरचनाहरुको दुरुपयोग गरी आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाउने प्रयास गरिएकामा आफूहरुको भेलाले चिन्ता जाहेर गरेको पनि भट्टराईले बताए । आगामी २६ देखि २८ पुससम्म बस्ने केन्द्रीय कमिटी बैठकमा त्यसबारे विषय उठान गरिने उनले जनाए ।
यस्तै पोखरेल समूहले अराजनीतिक बार्गेनिङ नगरी राजनीतिक मुद्दामा सधैंको आन्तरिक संघर्षमा सामेल हुने तथा विभाजन वा आत्मसमर्पणलाई बल नपुग्ने गरी निरन्तर संघर्षको नीति अख्तियार गर्ने निर्णय पनि भेलाले गरेको छ ।


प्रतिक्रिया