साढे १७ करोडको लागतमा ठडियो मध्यविन्दु नगर अस्पताल

साढे १७ करोडको लागतमा ठडियो मध्यविन्दु नगर अस्पताल



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लगानीमा सुविधा सम्पन्न नगर अस्पताल भवन निर्माण भएको छ । चोरमारामा निर्माण गरिएको उक्त १५ शय्याको अस्पताल भवनको आइतबार औपचारिक उद्घाटन गरिएको हो ।

२०७९ मङ्सिरमा शिलान्यास गरिएको यो भवन तीन वर्षभित्रै निर्माण सम्पन्न भएको हो। चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी निर्माण गरिएको यस अस्पतालमा ४२ वटा कोठाहरू रहेका छन् ।

दुई तले भवनमा बहिरङ्ग सेवा (ओपिडी), अत्याधुनिक ल्याब, अपरेसन थिएटर, फार्मेसी, वार्ड र चिकित्सक आवासको व्यवस्था छ। नवनिर्मित भवनबाट सेवा सुरु भएसँगै यस क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

नगर प्रमुख भीमलाल अधिकारीका अनुसार यसै महिनादेखि अस्पतालमा एमडिजिपीसहित दैनिक रूपमा विशेषज्ञ सेवाहरू प्रदान गरिनेछ । जसमा बालरोग, फिजियोथेरापी र हाडजोर्नी जस्ता सेवाहरू समावेश छन्। अस्पतालमा शल्यक्रियासहितको आँखा उपचार सेवासमेत सुरु भइसकेको छ ।

यस अस्पतालबाट मध्यविन्दु नगरपालिकाका साथै विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दाले समेत लाभ उठाउन सक्नेछन् ।

पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको यो अस्पतालले सडक दुर्घटनाका घाइतेहरूलाई तत्काल उपचार दिन महत्वपूर्ण भूमिका खेल्ने अस्पतालका प्रमुख अमरेशचन्द्र साहले बताए । हाल यस अस्पतालमा दैनिक करिब तीन सय बिरामीले सेवा लिइरहेका छन् । सुविधा सम्पन्न पूर्वाधार बनेसँगै अब गुणस्तरीय स्वास्थ्य सेवालाई थप विस्तार गर्दै लैजाने नगरपालिकाको योजना छ ।