काठमाडौं । विगत केही दिनदेखि निरन्तर घटिरहेको काठमाडौँ उपत्यकाको तापक्रममा सोमबार उल्लेख्य वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार न्यूनतम तापक्रम झन्डै २ डिग्री सेल्सियसले बढेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस देखिएको छ । आइतबार सोही समयमा उपत्यकाको तापक्रम ५.६ डिग्री सेल्सियस मात्रै थियो, जुन बिहान ८:४५ बजेको आधिकारिक मापनमा झरेर ५.५ डिग्री कायम भएको थियो ।
मौसमविद्हरूका अनुसार राति आकाशमा बादल लागेका कारण तापक्रम बढ्न पुगेको हो । ‘रातिको समयमा आकाश बादलले ढाकिएपछि पृथ्वीको ताप बाहिरिन पाउँदैन, जसले गर्दा न्यूनतम तापक्रम बढ्छ,’ महाशाखाका एक मौसमविद्ले जानकारी दिए, ‘यदि रात सफा भएको भए तापक्रम अझै घट्ने सम्भावना रहन्थ्यो ।’
काठमाडौँ उपत्यकामा मात्र नभई देशका अन्य भागमा पनि तापक्रममा केही वृद्धि भएको महाशाखाले जनाएको छ । यद्यपि, बिहान ८:४५ बजे गरिने आधिकारिक मापनमा भने ५:४५ बजेको तुलनामा तापक्रम केही घट्न सक्ने सम्भावना रहन्छ ।
महाशाखाले दैनिक दुई पटक तापक्रमको आधिकारिक तथ्याङ्क सङ्कलन गर्ने गर्दछ । जसअनुसार बिहान ८:४५ बजे न्यूनतम र बेलुका ५:४५ बजे अधिकतम तापक्रम मापन गरिन्छ । सोमबारको अधिकतम तापक्रम कति रहनेछ भन्ने विवरण साँझ मात्र प्राप्त हुनेछ ।


प्रतिक्रिया