काठमाडौं । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ‘जेनजी’ समूहले आज (सोमबार) काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । वर्तमान सरकारले युवा पुस्ताको भावना र आन्दोलनको मर्मलाई आत्मसात् गर्न नसकेको निष्कर्ष निकाल्दै अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूह १० बुँदे मागसहित सडकमा ओर्लिन लागेको हो ।
आइतबार पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको यो ‘शान्तिपूर्ण आन्दोलन’ आज बिहान ११ बजे माइतीघर मण्डलामा केन्द्रित हुनेछ । समूहले अहिलेको राजनीतिक निकासका लागि विद्यमान सरकारको विकल्पमा सर्वपक्षीय सरकार गठन हुनुपर्ने मुख्य माग अघि सारेको छ ।
सार्वजनिक गरिएको १० बुँदे मागपत्रमा देशको शासकीय स्वरूपमै परिवर्तनको खाँचो औंल्याइएको छ । पर्चामा उल्लेख भएअनुसार, उनीहरूले राज्यपुनर्संरचना, राजनीतिक स्थिरता र सुशासनका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभामार्फत संविधान पुनर्लेखन गर्नुपर्ने माग राखेका छन् ।
यस्तै, आन्दोलनका क्रममा पक्राउ परेका जेनजी युवाहरूमाथि लगाइएका झुटा मुद्दा खारेज गरी तत्काल रिहाइ गर्न र दमनमा संलग्नमाथि कारबाही गर्न सरकारलाई अल्टिमेटम दिइएको छ । उनीहरूले शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन, न्यायालयको फैसलाको प्रत्यक्ष प्रसारण, विदेशमा रहेका नेपालीलाई मताधिकार र ‘एकपटकको नेपाली, सधैंको नेपाली’ नीति कार्यान्वयनको माग पनि अघि सारेका छन् । साथै, मिटरब्याज पीडित, सहकारी पीडित र उखु किसानका समस्या तत्काल समाधान गर्नुपर्ने विषय पनि आन्दोलनको एजेन्डामा समेटिएको छ ।
आन्दोलनको नेतृत्व गरिरहेका मिराज ढुंगानाले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले १०० दिनको अवधिमा जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाए । ‘हामीले सरकारको १०० दिनको काम हेर्यौं, यसले हाम्रो आन्दोलनको मर्म बोक्न सकेन,’ ढुंगानाले भने, ‘अबको आवश्यकता भनेको सबै पक्षलाई विश्वासमा लिएर संवाद गर्न सक्ने र देशलाई निकास दिने राजनीतिक नेतृत्व हो । त्यसैले सर्वपक्षीय सरकार गठन आजको अनिवार्य आवश्यकता बनेको छ ।’


प्रतिक्रिया