१५औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने गगन थापाको घोषणा

१५औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने गगन थापाको घोषणा


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् ।

आफू १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको र सभापति बन्ने दाबी गरे । महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभई पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताए । उनले अहिले क्रियाशील सदस्यको कामहरू पठाउन ढिलाइ गरिरहेको बारे पनि आपत्ति जनाए । उनले महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको बताए । महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताए । जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको तर महाधिवेशन निर्वाचनअघि हुनैपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले भने, ‘अहिले तलबाट क्रियाशील सदस्यको कामहरू हुँदै गर्दा ठाउँ ठाउँबाट क्रियाशील सदस्य पठाइदिनुपर्ने कुराहरू जसरी भइराख्नुपर्ने हो आइरहेको छैन । तर म कसैलाई दोष दिन्न । किनभने अझै गर्न सक्छु भन्ने विश्वास छ । लागिरहेका छौँ । पत्रपत्रिकाहरू हेर्दा अब यो भ्याइँदैन, गर्न सकिँदैन, पहिला राम्रो बाटोमा पानी लगेर खन्याएर अब बाटो हिलो छ, हिँड्न सकिँदैन भनेको जस्तै हो । मजाले बाटो ठिक थियो । समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो । तर कता कता कता अलि अलि त्यो स्मेल गरिरहेका छौँ । यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ । हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ । म अहिले पार्टीको १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हुँ । म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु । अधिवेशन नेतृत्व नयाँ आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने समय पनि हो ।’

महामन्त्री थापाले नियमित अधिवेशन हुनुपर्ने वा विशेष महाधिवेशन हुनैपर्ने बताए । महाधिवेशन बिना नेपाली कांग्रेस निर्वाचनमा नजाने उनको तर्क छ ।