काठमाडौं । अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको एमसीए नेपालले धनखोला–लमही खण्ड स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेको छ ।
पूर्व–पश्चिम राजमार्गको दाङको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्ड मर्मतका लागि आज ठेक्का सम्झौता भएको हो । यो ठेक्का टेन्डर प्रक्रियाबाट शर्मा/कुमार श्रेष्ठ जेभीले भ्याटबाहेक २ करोड ८ लाख अमेरिकी डलर अर्थात् झन्डै ३ अर्ब रुपैयाँमा प्राप्त गरेको हो । आयोजनाको निर्माण अवधि २४ महिना तोकिएको छ ।
नेपाल सरकारको निर्णय अनुसार स्तरोन्नति गरिने सडकमा गाडी गुड्ने चौडाइ ७ मिटर र दुवैतर्फ साढे २ मिटर चौडा कालोपत्र सोल्डर गरी जम्मा १२ मिटर कालोपत्र सडक रहने छ ।
सडक खण्डमा प्रयोग भएका धेरैजसो निर्माण सामग्री पुनः प्रयोग गर्न मिल्ने गरि गर्ने नयाँ प्रविधिबाट सडक स्तरोन्नति हुनेछ । पहिले सडक कालोपत्रका क्रममा प्रयोग गरिएको बालुवा गिट्टी पुनः प्रशोधन गरी फेरि त्यही कामका लागि प्रयोग गरिने छ ।
यसैबीच स्थानीय बासिन्दाले एमसीए नेपालले अघि बढाएको धानखोला–लमही दुई लेन सडक परियोजना तत्काल खारेज गरी चार लेन एशियन हाइवे निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
सडकलाई चार लेनमा विस्तार गर्न माग गर्दै उनीहरूले आज लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी सञ्चालनमा रोक लगाएका छन् ।


प्रतिक्रिया