अमेरिकामा अवैध रूपमा बसोबास गर्ने ३० जना भारतीय पक्राउ

अमेरिकामा अवैध रूपमा बसोबास गर्ने ३० जना भारतीय पक्राउ



वासिङ्गटन डीसी । अमेरिकी सीमा गस्ती प्रहरीले आफ्नो देशमा अवैध रूपमा बसोबास गरिरहेका ३० जना भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिहरू व्यावसायिक चालक अनुमतिपत्र प्रयोग गरेर ट्रक चलाउने काममा संलग्न रहेको समाचारमा उल्लेख छ ।

यसैगरी अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले एक विज्ञप्ति जारी गर्दै सीमा गस्ती एजेन्टहरूले क्यालिफोर्नियाको एल सेन्ट्रो क्षेत्रमा ४९ जना अवैध आप्रवासीलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेका व्यक्तिहरूबाट व्यावसायिक चालक अनुमतिपत्र बरामद गरिएको छ ।

यी व्यक्तिहरूलाई अध्यागमन चेकपोइन्टमा निरीक्षणको क्रममा पक्राउ गरिएको भन्सार एजेन्सीले बताएको छ । जसमा ३० जना भारतीय नागरिक छन् ।

यो कारबाही अध्यागमन कानून लागू गर्ने, अमेरिकी राजमार्गहरू सुरक्षित गर्ने र व्यावसायिक यातायात क्षेत्रमा नियामक मापदण्डहरू कायम राख्ने उद्देश्यले गरिएको भन्सार विभागले बताएको छ ।