वीरेन्द्रनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास र अपरिहार्य व्यवस्था भएकाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पुर्याई शासनको वैधानिकता प्रदान गर्ने मूल प्रणाली रहेको बताएका छन् ।
बुधबार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।
भर्खरै भएको जेनजी जन–आन्दोलनले गर्दै अहिलेका युवा पुस्तालाई यसले युवाहरुको राजनीतिमा मूल प्रवाहीकरण गरेको र अब पनि उनीहरुलाई ब्याइपास गरेर जान नसकिने धारणा मन्त्री अर्यालले राखे ।
आवधिक निर्वाचन नै सुशासनको आधार भएको र ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्छ भन्ने तथ्यलाई भुल्न नहुने मन्त्री अर्यालले बताए ।
मन्त्री अर्यालले सुशासन दिन सकिएन भने विद्रोहको अवस्था सिर्जना हुने रहेछ भनेर अब पनि द्वन्द्वको अवस्था सिर्जना हुन नदिन हामीले नयाँ पुस्ता र उनीहरुका जायज माग सम्बोधन बेलैमा गरिनुपर्नेमा जोड दिए । नव पुस्तालाई केही राजनीतिक दलहरुले हाल आएर राजनीतिको प्रमुख पदहरुमा आवद्ध गराउनु भएको देख्दा सरकारलाई खुसी लागेको समेत मन्त्री अर्यालले बताए ।
उनका अनुसार निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको विचारसमेत उनले दोहोर्याए ।
यस्तै, यही पुस ७ गते प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय छलफलबाट आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा तोकिएकै मितिमा सम्पन्न गर्ने गरी साझा प्रतिबद्धता जाहेर भएको ब्यहोरा समेत मन्त्री अर्यालले कार्यक्रममा स्मरण गराए ।


प्रतिक्रिया