पेटमा कोकिनका २९ क्याप्सुल लुकाएर आएकी थाइ महिला विमानस्थलबाट पक्राउ

पेटमा कोकिनका २९ क्याप्सुल लुकाएर आएकी थाइ महिला विमानस्थलबाट पक्राउ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । पेटभित्र लुकाएर र झोलाको गोप्य भाग (फल्स बटम) प्रयोग गरी कोकिन तस्करी गर्न खोज्ने एक थाइ नागरिकलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४४ वर्षीया थाइ नागरिक रुसानी कामा रहेकी छिन् । लाओसबाट बैंकक हुँदै थाइ लायन एयरको उडानमार्फत काठमाडौँ ओर्लिएकी उनलाई प्रहरीले विशेष निगरानीका आधारमा नियन्त्रणमा लिएको हो ।

विमानस्थलको आगमन कक्षमा नियमित चेकजाँचका क्रममा रुसानीको गतिविधि अस्वाभाविक देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । सुरुमा उनको साथमा रहेको झोला खानतलासी गर्दा ‘फल्स बटम’ बनाएर लुकाइएको अवस्थामा खैरो टेपले बेरेका १२ वटा क्याप्सुल फेला परेका थिए । झोलामा कोकिन भेटिएपछि उनले पेटमा समेत लागूऔषध निलेर ल्याएको हुन सक्ने आशंकामा प्रहरीले उनलाई तत्काल नेपाल प्रहरी अस्पताल, महाराजगन्ज पुर्‍याएको थियो ।

ब्युरोका प्रहरी नायव उपरीक्षक (डिएसपी) जीवन निरौलाका अनुसार, अस्पतालमा सिटी स्क्यान गर्दा उनको पेटमा शंकास्पद वस्तुहरू देखिएको थियो । चिकित्सकको सहयोगमा उनको पेटबाट थप २९ वटा कोकिनका क्याप्सुल निकालिएको छ ।

प्रहरीले उनको झोलाबाट १२ र पेटबाट २९ गरी जम्मा ४१ वटा क्याप्सुल बरामद गरेको छ । बरामद गरिएको कोकिनको कुल तौल ५५० ग्राम रहेको प्रहरीले पुष्टि गरेको छ । लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।