काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका महामन्त्री गगन थापासहित ३ जना युवा पदाधिकारीहरू प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका हुन ।
महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले आगामी निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन् । महामन्त्री थापाले भने हिजो विहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने बताएका थिए । चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ ।
‘नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ एक पदाधिकारीका अनुसार महामन्त्री थापाले बैठकमा भनेका थिए, ‘नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’ उनको घोषणा अनुसार पार्टी नेतृत्व परिवर्तन भएमात्र चुनाव लड्ने छन् ।
तत्काल नेतृत्व परिवर्तनको सम्भावना भने देखिएको छैन । अर्का महामन्त्री शर्माले भने पार्टीको नेतृत्व परिवर्तन भए पनि आसन्न निर्वाचन नलड्ने स्वघोषणा गरेका छन् । कार्यसम्पादन समिति बैठकमा उनले आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले राजनीतिक प्रवृत्ति भत्काउन अब निर्वाचन नलड्ने जानकारी दिएका थिए ।
‘लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु,’ शर्माले बैठकमा भनेका थिए ।
‘पावर’ ले भ्याएसम्म उम्मेदवार बन्ने, जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्नेदेखि एक क्षेत्रमा हार्दा अर्को क्षेत्रमा, एउटा तहमा हारे अर्कोमा भए पनि उम्मेदवार बन्नैपर्ने, बाँचुञ्जेल क्षेत्र कब्जाको सोच राख्ने र श्वासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने राजनीतिक प्रवृत्ति भत्काउन जरूरी रहेको उनको भनाइ थियो ।
यसअघि सहमहामन्त्री पाण्डेले गृहजिल्ला बाजुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका थिए । २६ मंसिरमा प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला कार्यसमिति बैठकमा उनले आफू उम्मेदावर बन्न इच्छुक नरहेको बताएका थिए ।


प्रतिक्रिया