जनसम्पर्क समिति,अमेरिकामा सबै च्याप्टर निर्विरोध

जनसम्पर्क समिति,अमेरिकामा सबै च्याप्टर निर्विरोध


ग्लोब नेपाल
135
Shares

नेपाली जनसम्पर्क समिति,अमेरिकाका सबै च्याप्टरहरुमा निर्विरोध नेतृत्व चयन सम्पन्न भएको छ। गत शनिवार एकैसाथ सम्पन्न सबै च्याप्टरहरुको अधिवेशनमार्फत यसरी सर्वसम्मत रुपमा नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको हो। च्याप्टर अधिवेशन सफलतापूर्वक सम्पन्न भएको समितिका केन्द्रीय सभापति एवं नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले जानकारी दिनु भएको छ। ‘हामीले एकैपटक अमेरिकाभर सबै च्याप्टरको अधिवेशन र नयाँ नेतृत्व चयन गर्ने कार्य भाडो उत्साह र हार्दिकताका साथ सम्पन्न गरेका छौं र अब हामी पार्टी नेतृत्वसंग समन्वय गरेर छिट्टै समितिको केन्द्रीय अधिवेशन सम्पन्न गर्छौं’ सभापति विष्टले भने।

च्याप्टरअधिवेशन पूर्व समितिले डिसेम्वर ४ देखि १५ तारिखसम्म समितिको सदस्यता वितरण खुल्ला गरेको थियो। सोही अवधिमा चार हजारभन्दा बढीले समितिको सदस्यता लिएका थिए। समितिको पूर्व घोषित कार्यतालिका अनुसार नै डिसेम्वर २० तारिख शनिवार सबै च्याप्टर अधिवेशन सम्पन्न गरिएको हो। च्याप्टरका सबै नेतृत्व निर्विरोध निर्वाचित भएपछि अमेरिकामा रहेका आम कांग्रेसजन उत्साहित भएका छन्। ‘अब हामीलाई हाम्रो केन्द्रीय नेतृत्व चाडो चाहिएको छ’ एक जना च्याप्टर सभापतिले भने।

कुन च्याप्टरमा को भए सभापति ?
अहिले अमेरिकामा जनसम्पर्क समितिका २६ वटा च्याप्टर स्थापित भएका छन्। २६ वटै च्याप्टरमा एकै पटक अधिवेशन र नयाँ नेतृत्व चयन भएको हो। त्यसबाहेक पुराना केही च्याप्टरले समितिको गाइडलाईन अनुसार मापदण्ड पुरा गर्न नसक्दा आ आफ्नो च्याप्टर कायम गर्न सकेनन्। २६ वटा च्याप्टर मध्ये सबैबह्न्दा बढी सदस्य भएको सन् फ्रान्सिस्को क्यालिफोर्निया च्याप्टरमा हरि भट्टको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ। यसैगरी दोश्रो बढी सदस्य भएको न्यूयोर्क च्याप्टरको अध्यक्षमा दिन दयाल भण्डारी (दिनेश) को नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको छ। यसैगरी कोलोराडो च्याप्टरमा डाक्टर गणेश भण्डारी, डाल्लास टेक्सास च्याप्टरमा उज्वल खत्री, मेरिल्याण्ड च्याप्टरमा नेत्र केसी, साउदर्न क्यालिफोर्निया (लस एन्जलस) च्याप्टरमा रामचन्द्र लामिछाने,विस्कनसिन च्याप्टरमा हरिहर पौडेल,लंग आइल्याण्ड च्याप्टरमा श्याम पौडेल, स्याक्रामेन्टो च्याप्टरमा राजाराम अधिकारी,कनेक्टिकट च्याप्टरमा रबिन लिम्बु,जर्जियामा शिवकमल पौडेल र नर्थ क्यारोलिना च्याप्टरमा भानु आचार्यको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको छ।

यसैगरी शिकागोमा बिजेन्द्रबिक्रम राणा, सेन्ट्रल टेक्सासमा विनोद श्रेष्ठ, वेष्ट टेक्सासमा हरिप्रसाद ढकाल, साउथ फ्लोरिडामा अभिनाश नायक, भर्जिनियामा यमकुमार सिटौला,न्यूजर्सीमा संजीव श्रेष्ठ,पेन्सिलभेनियामा गार्भीलाल यादव, बोष्टनमा विश्वा लामा, मिशिगनमा कृष्ण सिंह, केन्टकीमा युबराज ढुंगाना र अष्टिन टेक्सासमा कौशलकुमार यादव, नेभाडामा प्रविन माखिम, नेब्रास्कामा भुवन भण्डारी र कान्सास सिटीमा फिलिप केसीको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको छ।

अब केन्द्रीय अधिवेशनको पालो
च्याप्टर अधिवेशन सकिएसंगै अब समितिको केन्द्रीय अधिवेशनतर्फ सबैको चासो बढेको छ। हरेक च्याप्टरबाट ५ जना साधारण सदस्य बराबर एक जना केन्द्रीय प्रतिनिधि चयन हुन्छन्। यिनै एकजना प्रतिनिधिले चुनावमा सहभागी हुने र नयाँ नेतृत्वका लागि आ आफ्नो मताधिकार प्रयोग गरेर नयाँ नेतृत्व चयन गर्नेछन्। यही समयमा कांग्रेसको क्रियाशील सदस्यता पनि नवीकरण र वितरण गरिएको थियो। सबै विवरण संकलन गरी केन्द्रलाई जानकारी गराउने र सोही आधारमा पार्टी समन्वय विभाग र केन्द्रसंग समन्वय गरी समितिको अधिवेशनको नयाँ मिति र स्थान तय गरिने सभापति विष्टको भनाई छ।
यस पहिले डिसेम्वर २७ मा हुने भनिएको समितिको केन्द्रीय अधिवेशन व्यवस्थापकीय कार्य सम्पन्न नभएको कारण देखाएर बुधवार मात्र स्थगित गर्ने समितिले निर्णय गरेको थियो। अधिवेशन स्थगन गरेतापनि पुन: तुरुन्त अधिवेशन मिति र स्थान तय गरेर सार्वजनिक गर्न जनसम्पर्क समितिका सदस्यहरुले दवाब बढाएका छन्।

नेतृत्वका लागि आकांक्षी बढ्दै
समितिको आगामी नेतृत्वका लागि अहिले धमाधम उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। यसरी नाम सार्वजनिक भएका आकांक्षीहरुमा गौतम दाहालसहित वेदप्रसाद खरेल, सीपी पौडेल, भरत अर्याल, विष्णु सुबेदी र मुनिन्द्र नेम्वांग छन्। यस बाहेक अन्य केही नाम पनि थपिने सम्भावना छ। केन्द्रीय समिति ४० सदस्यीय भन्दा बढीको हुनेछ। आकांक्षीहरुबीच यसपटक अधिकतम रुपमा लचिलो हुँदै सहमतिमा नेतृत्व चयन गरिनुपर्ने आवाज च्याप्टर अधिवेशनपछि बढ्न थालेको छ।’च्याप्टरमा सर्वसम्मत नेतृत्व आएपछि केन्द्रीय समितिमा पनि यसरी नै सर्वसम्मत नेतृत्व चयन गरिनुपर्छ अनिमात्र आन्तरिक एकता बलियो हुन्छ’ च्याप्टरका एक निर्वाचित सभापतिले भने। तर अधिवेशनको नयाँ मिति टुंगो नलागी सकेका कारण आकांक्षीहरुको संख्या पनि थपिने अनुमान गरिएको छ।