काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको पछिल्लो राजनीतिक समझदारीप्रति कडा आपत्ति जनाएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै मेयर साम्पाङले उक्त सहकार्यलाई ‘सत्तास्वार्थको गठजोड’ र ‘विदेशी हस्तक्षेप संस्थागत गर्ने प्रपञ्च’ को संज्ञा दिएका हुन् ।
उनले रवि र बालेनको नाम प्रत्यक्ष रूपमा नलिए पनि सांकेतिक भाषामा उनीहरूको राजनीतिक चरित्र र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् । साम्पाङले काठमाडौंका मेयर बालेन शाहतर्फ लक्षित गर्दै ‘जेनजी’ (नयाँ पुस्ता) को भावनासँग खेलेको आरोप लगाएका छन् ।
युवाहरूलाई सडकमा उतारेर, आन्दोलनमा होमेपछि नेतृत्व लिनुको साटो सुरक्षित स्थानमा लुकेर रमिता हेर्ने प्रवृत्तिको उनले खुलेर आलोचना गरे । ‘एउटा विदेशी दलाल जो भित्रभित्रै लुकेर डरलाग्दो खेल खेल्छ, जेनजीलाई उक्साएर लड्न-भिड्न पठाउँछ,’ साम्पाङले आक्रामक शैलीमा भनेका छन्, ‘सयौं नागरिक हताहत हुँदा र देश जल्दा ऊ भित्र बसेर मुसुमुसु हाँस्छ । बाहिर आउने साहस गर्दैन ।’
उनले सिंहदरबार जल्दा र देश संकटमा पर्दा ‘टुलुटुलु हेरेर बस्ने’ नेतृत्वले अहिले चुनावको मुखमा कुन नैतिकताले भोट माग्दैछ भन्दै प्रश्नसमेत गरे । रवि-बालेनबीचको चुनावी तालमेल र समझदारीलाई साम्पाङले विदेशी इसारामा भएको ‘सेटिङ’ दाबी गरेका छन् । उनले यो गठबन्धन देश बनाउन नभई कुर्सी प्राप्त गर्न र देशलाई विदेशीको हातमा सुम्पनका लागि भएको जिकिर गरे । ‘कुर्सीका लागि र यो देशलाई लिलाम गर्नका लागि यो सब भइरहेको छ,’ साम्पाङले भने, ‘विदेशी हालीमुहाली हामीले प्रत्यक्ष महसुस गरिसकेका छौं, अब त्यसलाई संस्थागत गर्न यस्ता पात्रहरू अघि सारिँदैछन् ।’
मेयर साम्पाङले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सहकारी ठगी प्रकरण र एमसीसी सम्झौताका पक्षधरहरूसँगको साँठगाँठप्रति पनि व्यङ्ग्य गरे । सहकारी पीडितको मुद्दा र एमसीसीका मतियारहरूसँग मिलेर बन्ने सरकारले जनताको पक्षमा काम गर्न नसक्ने उनको ठम्याइ छ ।


प्रतिक्रिया