रास्वपामा बालेनलाई दोस्रो वरियता

रास्वपामा बालेनलाई दोस्रो वरियता


ग्लोब नेपाल
189
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच औपचारिक सहकार्यको ढोका खुलेको छ । आइतबार बिहान रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच सात बुँदे रणनीतिक सहमति भएसँगै बालेन रास्वपाको नेतृत्व तहमा रहने निश्चित भएको हो ।

दुई पक्षबीच भएको समझदारी अनुसार बालेन शाहलाई पार्टीभित्र सभापति रवि लामिछानेपछिको दोस्रो वरीयतामा राखिने भएको छ । यद्यपि, हस्ताक्षरित सहमति पत्रमा बालेनको पदका बारेमा स्पष्ट खुलाइएको छैन, तर उनलाई आगामी निर्वाचनमा रास्वपाको तर्फबाट ‘प्रधानमन्त्रीको उम्मेदवार’ र निर्वाचन पश्चात् ‘संसदीय दलको नेता’ बनाउने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

बालेन निकट स्रोतका अनुसार यो सहमति पद प्राप्तिका लागि नभई देशको विद्यमान राजनीतिक अवस्थालाई नयाँ निकास दिनका लागि गरिएको हो । बालेनका निकट सहयोगी केपी खनालले यसको पुष्टि गर्दै भने, ‘बालेनजीले वार्ताका क्रममा कुनै व्यक्तिगत पद वा ओहोदाको माग गर्नुभएको थिएन । उहाँको मुख्य चिन्ता देशलाई कसरी निकास दिने भन्नेमै केन्द्रित थियो । तर, भावी प्रधानमन्त्रीको उम्मेदवार र संसदीय दलको नेताको जिम्मेवारी तय भइसकेकाले उहाँ स्वाभाविक रूपमा पार्टीको दोस्रो वरीयतामा रहनुहुनेछ ।’

सहमति पत्रमा केन्द्रीय समितिमा बालेन पक्षको प्रतिनिधित्वका विषयमा ठोस संख्या नतोकिए पनि क्षमतावान् युवा र विज्ञहरूलाई उचित स्थान दिने उल्लेख छ । ‘पार्टी एकता पश्चात् संगठनलाई थप सुदृढ, सक्षम र समावेशी बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइनेछ । जिम्मेवारी बाँडफाँट गर्दा योग्यता, सार्वजनिक छवि र समावेशितालाई मुख्य आधार बनाइनेछ,’ सहमतिमा भनिएको छ ।

यो एकताले विशेष गरी वैकल्पिक राजनीतिको वकालत गर्ने शक्तिहरूलाई एउटै कित्तामा उभ्याएको छ । युवा पुस्तामाझ लोकप्रियता कमाएका दुई प्रभावशाली व्यक्तित्वको यो सहकार्यले आगामी निर्वाचन र मुलुकको समग्र राजनीतिमा दूरगामी प्रभाव पार्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ ।