राप्रपाको समानुपातिक सूचीमा नयाँलाई अवसर

राप्रपाको समानुपातिक सूचीमा नयाँलाई अवसर


ग्लोब नेपाल
297
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । पार्टीले विगतका निर्वाचनमा अवसर पाइसकेका नेताहरूलाई विश्राम दिँदै यसपटक पूर्ण रूपमा नयाँ अनुहारलाई प्राथमिकतामा राखेको हो ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले २०६४ सालदेखि २०७९ सालसम्म लाभको पदमा रहेका वा सांसद भइसकेका कुनै पनि नेतालाई समानुपातिक सूचीमा समावेश नगर्ने कठोर निर्णय गरेको छ । यही नीतिगत कडाइका कारण पार्टीका प्रभावशाली एवं ‘हेभीवेट’ मानिने नेताहरू यसपटक समानुपातिक सूचीमा अटाएनन् ।

डा. लोहनीको प्रयासमा ‘ब्रेक’
समानुपातिक सूची तयार पार्ने क्रममा पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफू उम्मेदवार बन्न पाउनुपर्ने अडान राखेका थिए । पार्टीको ‘पुरानालाई नदोहोर्‍याउने’ निर्णयमा असहमति जनाउँदै उनले आफू तत्कालीन ‘जनशक्ति पार्टी’ बाट सांसद भएको हुनाले राप्रपाको यो नियम आफूमा लागू नहुने तर्क गरेका थिए ।

लोहनीको दाबीमाथि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुँदा सहमति जुट्न नसकेपछि मतदान प्रक्रिया अपनाइएको थियो । मतदानमा लोहनीलाई उम्मेदवार बनाउन नहुने पक्षमा बहुमत सदस्य उभिएपछि उनी रिङ्गाआउट भएका हुन् ।