सभापति देउवाले पूर्णबहादुर बोकेपछि ७ भाइ हेरेको हेरै

सभापति देउवाले पूर्णबहादुर बोकेपछि ७ भाइ हेरेको हेरै



काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा को–को पार्टी सभापतिका उम्मेदवार बन्छन भन्ने टुंगो लगभग लागेको छ । पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अगाडि सारेपछि संस्थापन समूहबाट सभापतिको उम्मेदवार को हुन्छ भन्ने संशय हटेको छ ।

कार्यवाहक सभापति खड्काले पार्टी सभापतिको धाप पाएसँगै कांग्रेसको १५ औं महाधिवेशनमा त्रिपक्षीय भिड्न्त हुने देखिएको छ । संस्थापन समूहबाट खड्का, १४ औं महाधिवेशनमा सभापति देउवासँग पराजित शेखर कोइराला र ड्राइभिङ सिटमा बसेर पार्टी हाक्ने हुटहुटी बोकेका महामन्त्री गगन थापाबीच सभापति पदका लागि मुख्यगरी भिड्न्त हुने देखिन्छ ।

महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको छनोट भइनसकेकाले कसले जित्छ भन्नु अहिले नै हतार हुनेछ । तर सभापति देउवाले धाप मारेका खड्का सर्वसम्मत हुन कि होइनन अथवा सभापति देउवाका सहयोगीहरुले पनि खड्कालाई साथ दिन्छन कि दिँदैन भन्ने चासोले यतिबेला कांग्रेसवृत्तमा बहस चलेको छ ।

सभापति देउवाका सहयोगी ठानिएका पूर्व उपसभापति गोपालमान श्रेष्ठ र विजय गुच्छदार, पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शंशाक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महतका लागि कार्यवाहक सभापति खड्का स्वीकारयोग्य हुन्छ कि हुन्न भन्ने बहसले यतिबेला कांग्रेस तातेको छ । महाधिवेशनको मिति सर्ने चर्चासँगै सभापति देउवाले आफ्नो उम्मेदवार तोकेका छन् ।

सिटौला, कोइराला, निधि, श्रेष्ठ, महत, सिंह र गच्छदार सभापति देउवाका सहयोगी हुन् । पछिल्लो समय सात भाइ उपनामले परिचित यो संस्थापन समूहले खड्कालाई साथ दियो भने मात्र प्रतिस्पर्धा हेर्नलायक हुने कांग्रेसमा विश्लेषण गरिएको छ । धेरैले यी सात भाइमध्येबाट साझा उम्मेदवार बनाउने प्रयास पटक पटक नभएका होइनन्, तर कोही पनि एकअर्काको अस्तित्व स्वीकार गर्न तयार भएनन् ।

यही परिवेशमा सभापति देउवाले कार्यवाहक सभापति खड्कालाई धाप मारेपछि सात भाइ हेरेका हेरै मात्र भएका छैनन्, बिलखबन्दनमा समेत परेका छन् । उनीहरुको साझा उम्मेदवार खोज्ने च्याप्टर तत्कालका लागि बन्द भएको छ । अहिले यो समूह सम्हालिने कि कित्ता परिवर्तन गर्ने बहसमा जुटेको बुझिन्छ ।

यी सात भाइमध्ये गोपालमान श्रेष्ठ उमेरका हिसाबले पनि पार्टी नेतृत्वबाट साइट लाग्ने सम्भावना छ । बाँकी रहेका सिटौला, कोइराला निधि र सिंह पूर्वमहामन्त्रीहरु हुन् । कोइरालाबाहेक सिटौला, निधि र सिंह कार्यवाहक सभापतिभन्दा सिनियर मानिन्छन् । गच्छदार र डा. महत सभापति देउवाको इसारामा चल्छन् ।

फागुन २१ को आम निर्वाचनको तयारीमा जुट्नुपर्ने कांगे्रसभित्र यतिबेला महाधिवेशनको बहसले ठाउँ लिएको छ । सभापति देउवाले आम निर्वाचनपछि मात्रै कांग्रेसको नियमित महाधिवेशन सम्भव रहेको जनाउ दिइसकेका छन् । कांग्रेसमा महाधिवेशनको बहसभन्दा पनि आम निर्वाचनमा ध्यान जानुपर्ने बताइएको छ ।