इलाम । सशस्त्र प्रहरी बल (एपीएफ) का नायब उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको हृदयाघातका कारण बुधबार साँझ निधन भएको छ । इलामको पशुपतिनगर गुल्मका इन्चार्ज समेत रहेका कोइरालाको उपचारका क्रममा काठमाडौंस्थित एपीएफ अस्पतालमा मृत्यु भएको हो ।
घटना विवरण अनुसार, बुधबार सीमावर्ती नाका मानेभञ्ज्याङ क्षेत्रको गस्ती सकेर गुल्ममा फर्किनासाथ डीएसपी कोइराला एक्कासी अचेत भएर ढलेका थिए । कार्यालय परिसरमै ढलेपछि उनलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो ।
उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याइए पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन । अस्पताल स्रोतका अनुसार साँझ ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रारम्भिक जाँचमा उनको निधनको कारण ‘हृदयाघात’ भएको बताइएको छ ।
डीएसपी कोइरालाको सरुवा एक महिना अघि मात्र पशुपतिनगर गुल्ममा भएको थियो ।


प्रतिक्रिया